अन्तर्राष्ट्रिय फुटबलमा गोलको खडेरी चिरेका सन्जिव भन्छन्- गोल गर्न सक्यौँ त्यही नै ठूलो कुरा हो (भिडिओ) – Nepal Press

अन्तर्राष्ट्रिय फुटबलमा गोलको खडेरी चिरेका सन्जिव भन्छन्- गोल गर्न सक्यौँ त्यही नै ठूलो कुरा हो (भिडिओ)

दम्माम। स्ट्राइकर सन्जिव विष्टले नेपालको सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोलको खडेरी चिरेका छन्। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मंगलबार राति यमनविरुद्ध सन्जिवले गोल गरेपछि नेपालको गोल खडेरी टरेको थियो।

उनले २२ औँ मिनेटमा एकल प्रयाशमा बल अगाडि बढाएर डीबक्सभित्रबाट गोल गरेका थिए। सन्जिवको यो पहिलो अन्तर्राष्ट्रिय गोल गरे। नेपालले दोस्रो चरणका अघिल्ला ५ खेलमा एक गोल पनि गर्न सकेको थिएन भने बराबरीको नतिजासमेत निकाल्न सकेको थिएन। सन् २०२३ को अक्टोबरमा लाओसलाई १-० गोलले हराएयता नेपालले एक खेल पनि जित्न सकेको थिएन।

यमनविरुद्ध २-२ गोलको नतिजा निकालेर नेपालले लगातार हारको शृंखला पनि तोडेको छ। नेपालका लागि दोस्रो गोल जेलेप्सीजङ कार्कीले गरेका थिए। जेलेप्सीको पनि पहिलो अन्तर्राष्ट्रिय गोल हो।

‘आफ्नो देशका लागि खेल्न पाउनु हरेक खेलाडीको सपना हुन्छ। ५ खेल खेल्दा पनि हामीले एक गोल पनि गर्न सकेका थिएनौँ। आज बराबरी भयो र गोल पनि गर्न सक्यौँ’, चौथो अन्तर्राष्ट्रिय खेलमा गोल गरेका स्ट्राइकर विष्टले भने।

उनले कप्तान किरणको सयौँ अन्तर्राष्ट्रिय खेलमा सबै टिम मिलेर जितसहित खुसी दिने योजना बनाएको पनि बताए। ‘हामीले अन्तिम ५ मिनेट कन्ट्रोल गर्न नसक्दा जित टर्यो तर पनि हामी सबै खुसी छौँ’, उनले भने।

नेपाली फुटबलहरु एकपछि अर्को विदेश पलायन भइरहेको बेला यमनविरुद्ध गोल गरेका विष्टलाई नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले पोस्ट म्याच कन्फेरेन्सअघि अनौपचारिक कुराकानीमा ‘तिमी चाहीँ विदेश नजाउ, प्लिज’ भन्दै अनुरोध गरेका थिए।

एनेसेले अहिलेको टिम क्षमतावान् भएको तर नतिजा आउन समय लाग्ने बताएका थिए। मुख्य स्ट्राइकर अन्जन विष्ट घाइते भएपछि नेपाली टोली साउदी अरब भ्रमणमा अझ दबाबमा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *