यस कारण आयो पोर्चुगलमा आप्रवासनसम्बन्धी नयाँ नीति, एकै वर्षमा ३३ प्रतिशतले विदेशी जनसंख्या वृद्धि – Nepal Press

यस कारण आयो पोर्चुगलमा आप्रवासनसम्बन्धी नयाँ नीति, एकै वर्षमा ३३ प्रतिशतले विदेशी जनसंख्या वृद्धि

(लिस्वन) पोर्चुगल । पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति सार्वजनिक गरेसँगै त्यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ । सन् २०२३ मा पोर्चुगलमा विदेशी जनसंख्या करिब ३३ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक भएको छ । सरकारी तथ्यांकअनुसार कुल १० लाखभन्दा बढी आप्रवासीहरू देशमा कानूनी रूपमा बसिरहेका छन् ।

गत वर्ष आप्रवासीहरूको जनसंख्या उल्लेखनीय रूपमा वृद्धि भएपछि सरकारले नयाँ कार्ययोजना प्रस्तुत गरेको हो । जसमा आप्रवासनलाई व्यवस्थित गर्न ४१ वटा उपायहरू समावेश गरिएको छ ।
सन् २०२२ मा सात लाख ८१ हजार दुई सय ४७ जनाको संख्यामा रहेको आप्रवासीहरू सन् २०२३ मा आइपुग्दा १० लाख ४० हजार पुगेको सरकारी तथ्यांक रहेको छ ।

यो पनि पढ्नुहोस् : पोर्चुगल आउन खोज्नेको सपना चकनाचुर, नयाँ नीतिले हजारौं नेपाली प्रभावित

सरकारले यसलाई सन् २०१५ मा पोर्चुगलमा बसोबास गर्ने आप्रवासीको संख्यासँग पनि तुलना गरेको छ, जुन तीन लाख ८३ हजार सात सय ५९ थियो ।

सन् २०२३ मा अस्थायी र आवासीय अनुमती, छोटो अवधिको भिसा, अध्ययन, काम वा अस्थायी बसाइ भिसा प्रदान गरिएको जनाइएको छ । सरकारका अनुसार पोर्चुगलमा दिइने अधिकांश आवास अनुमतिहरू व्यावसायिक गतिविधिहरू गर्नका लागि हुने गर्दछ ।

सरकारी कागजातले जनसांख्यिक पुनरुत्थान र सक्रिय जनसंख्या वृद्धिमा योगदान पुर्‍याएको पनि संकेत गरेको छ । अधिकांश विदेशीहरू पोर्चुगलमा २५ देखि ४४ वर्षका रहेको पनि जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर