विदेशस्थित नियोगका वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाट (भिडिओ) – Nepal Press

विदेशस्थित नियोगका वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाट (भिडिओ)

काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत हुने भएको छ ।

कन्सुलर सेवा विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त अनलाइन प्रणालीको शुभारम्भ गरे ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्दा भौतिकरूपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरूप सूचना प्रविधिको प्रयोग मार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया थालिएको विभागले जनाएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले अनलाइन प्रमाणीकरण गर्ने प्रकृया नेपाली दूतावास अबुधावीबाट सुरू गरिएको क्रमश: अन्य देशमा पनि विस्तार गरिने जानकारी दिए । यस प्रणालीबाट सम्बन्धित रोजगारदाता र एजेन्सीहरूले अपलोड गरेको कागजपत्रहरू सुरक्षित हुने र यसरी कामका लागि विदेश गएका नेपाली थप सुरक्षित हुने उनले बताए ।

त्यस्तै श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजनाअनुसार सरकारले काम गरिरहेको बताए । फ्रि भिसा फ्रि टिकटको व्यवस्थालाई बढाउँदै लैजाने भन्दै हाल ४ प्रतिशतमात्रै सफल कार्यान्वयन भएको उक्त व्यवस्थालाई कम्तीमा पनि १५-२० प्रतिशतसम्म पुर्‍याइने उनको भनाइ छ ।

वैदेशिक रोजगारमा जाने नागरिकलाई नठगिकन पठाउन म्यानपावरहरूसँग निरन्तर छलफलमा रहेको मन्त्री अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर