महरालाई ‘कमजोर स्वास्थ्यका कारण’ आजै हाजिरी जमानीमा छोड्ने तयारी – Nepal Press

महरालाई ‘कमजोर स्वास्थ्यका कारण’ आजै हाजिरी जमानीमा छोड्ने तयारी

काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा आजै छुट्न सक्ने सम्भावना देखिएको छ । सीआईबीले कमजोर स्वास्थ्यको कारण देखाउँदै महरालाई छोड्न सक्ने स्रोतले दाबी गर्‍यो ।

महरा गत ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत लगेर ४ दिन म्याद थप गरिएको थियो । अदालतले दिएको म्याद आज सकिँदैछ । अझै हिरासतमा राख्नु परेमा अदालतबाट फेरि म्याद थप्नुपर्छ । तर, सीआईबीमा उनलाई हाजिरी जमानीमा छोड्नेबारे छलफल भएको स्रोतले बतायो ।

‘छोड्ने किसिमको तयारी छ, तर निर्णय भइसकेको छैन,’ सीआइबी स्रोतले भन्यो ।

महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोत बताउँछ ।

महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । स्रोतकाअनुसार महराले टीबीदेखि मस्तिष्कको नशासम्मको समस्या बोकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर