गृहमन्त्री लामिछानेविरुद्ध खनिए रमेश खरेल, रास्वपा महामन्त्री भन्छन्- सत्यतथ्य नबुझी टीआरपीको पछि कुद्नुभयो – Nepal Press

गृहमन्त्री लामिछानेविरुद्ध खनिए रमेश खरेल, रास्वपा महामन्त्री भन्छन्- सत्यतथ्य नबुझी टीआरपीको पछि कुद्नुभयो

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा रास्वपाका नेता रमेश खरेलले आफू संलग्न पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न उठाए ।

रास्वपामा प्रवेश गरे पनि निष्क्रिय रहेका खरेलले पछिल्लो समय एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए । महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद दिए । तर, त्यसपछि उनी गृहमन्त्रीमाथि नै खनिए ।

खरेल भन्छन्, ‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईं अनुसन्धानको पवित्र अग्निमा आफैं होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईंले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।’

यो कार्यक्रम प्रशारण हुनुअघि फेसबुक लाइभमा आएर पनि खरेलले लामिछानेको आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरुको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए ।

‘अहिले मन्त्रीमण्डलमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएका मान्छे प्रशस्त छन् । उनीहरुबाट के अपेक्षा गर्ने ? मप्रति नै अनुसन्धान भइरहेको छ, म अहिले सरकारमा जानु हुँदैन भन्ने सोच किन नआएको ? यो मन्त्रिपरिषद्मा प्रधानमन्त्री नै कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा छन् । गृहमन्त्रीमाथि पनि सहकारीमा अनुसन्धान भइरहेको छ । डोलप्रसादजी, महासेठजी, पुनजी सबै कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा छन्’, खरेलको भनाइ छ ।

खरेल अहिले रास्वपाका साधारण सदस्यमात्र हुन् । केहीअघि रास्वपाको जलेश्वर बैठकबाट केन्द्रीय सदस्य बनाउन खोजिँदा खरेलले अस्वीकार गरेका थिए । उनी रास्वपाबाट बारामा भएको उपनिर्वाचनमा उम्मेदवार बनेर पराजित भएपछि पार्टीमा निष्क्रिय छन् ।

खरेलको अभिव्यक्ति गम्भीर र चिन्ताजनक भएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँ जस्तो नेपाल प्रहरीको जिम्मेवार पदमा रहिसकेको र पार्टीमा समेत आवद्ध व्यक्तिले यसरी सत्यतथ्य नबुझी अभिव्यक्ति दिनु दुःखद हो । उहाँ टीआरपीको दौडमा लाग्नुभयो कि जस्तो लाग्छ ।’

यो अभिव्यक्तिलाई लिएर खरेलमाथि कारबाही हुन सक्छ र भन्ने प्रश्नमा ढकालले यसलाई अनुशासन समितिले हेर्नसक्ने बताए ।

‘अनुशासन समितिमा छलफलको विषय बन्नसक्छ । अनुशासन समितिले सिफारिस गर्‍यो भने कारबाही हुने हो । अहिलेसम्म आधिकारिक रुपमा उजुरी आएको छैन’, उनले भने ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछानेविरुद्ध खनिए रमेश खरेल, रास्वपा महामन्त्री भन्छन्- सत्यतथ्य नबुझी टीआरपीको पछि कुद्नुभयो

  1. १२ भाइ नामका पकेटमारजतिको पनि इज्जत नभएका दलालहरू रविको पछि लाग्न बन्द गर । तिमीहरू दलाल हौ । पैसा नपाएर हो वा विरोध गर पैसा दिन्छु भन्नेको पैसा खाएर समाचार बनाउन लाज नभएकाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर