नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले मागे स्वतन्त्र सांसदको हैसियत


पोखरा । स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।
मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।
‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले निवेदनबारे छलफल भैरहेको बताए । ‘उहाँ (मनाङे)ले अभिलेख सच्याउन निवेदन दिनुभएको छ । त्यसबारे छलफल हुँदैछ’, उनले भने ।
मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएकाे थियो ।