बागमतीमा लौरोले गर्‍यो मुख्यमन्त्री दाबी- नभए दुवै गठबन्धनतिर नलाग्ने – Nepal Press

बागमतीमा लौरोले गर्‍यो मुख्यमन्त्री दाबी- नभए दुवै गठबन्धनतिर नलाग्ने

हेटौंडा । बागमती प्रदेशमा शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ ।

हिजो र आज बसेको बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता ई. रोहन कार्कीले बताए ।

‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ’, उनले भने ।

‘आम नागरिकले देख्न चाहेको जस्तो वास्तविक नयाँ दलका रूपमा अग्लो भएर उभिनेछौं । नो नट अगेन भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृतिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौं तर लोकतान्त्रिक र नयाँ चरित्रकारूपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीहरूसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौं । यसमा पछि हट्ने छैनौं’, प्रवक्ता कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर एमाले-माओवादी-नेकपा एससहितको गठबन्धनलाई अल्पमतमा पारेपछि यहाँ लौरो निर्णायक मानिएको छ । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।

११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्ने कसरतस्वरूप जम्मकट्टैल सरकारले दुई मन्त्री अफर गरेको बाहिरिसकेको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ ।

नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन् । गठबन्धनले पनि सरकारमा उनीहरूलाई ल्याउन कसरत गरेको छैन ।

बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

नेकपा एसले बागमती प्रदेशमा आफूहरूको उपस्थिति अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै मुख्यमन्त्री दाबीसहित गठबन्धनमा दबाब बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर