ढुवानीसम्बन्धी छुट्टै कानून आवश्यक छ : कानूनमन्त्री गिरी (भिडिओ)


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताएका छन् ।
मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षा सम्बन्धि विधेयकले ढुवानी व्यवसायीहरुको समस्या समाधान हुन नसक्ने आफूले महसुस गरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दे मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धी कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।
उनले कानूनको माध्यामबाट ढुवानी व्यवसायीहरुको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिए ।
मन्त्री गिरीले कानून निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए ।
यस्तो छ मन्त्री गिरीको भनाइः
म तपाईहरुलाई खुला दिलले भन्नसक्छु–ढुवानी व्यवसायी क्षेत्रका साथीहरु, यससँग सम्बन्धित २÷३ वटा विधेयकहरु निर्माणको तयारीमा छ । एउटा सार्वजनिक यातायात सेवा ऐन । भौतिक मन्त्रालयमा अध्ययनको क्रममा छ । यसले तपाईहरुको समस्या समाधान गर्लाजस्तो मलाई लागेको छैन । सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक अहिले मन्त्रालयमा अध्ययनको क्रममा छ ।
अर्को, सार्वजनिक सडक सुरक्षा सम्बन्धि पनि अध्ययनको क्रममा छ । मैले यसो हेर्दाखेरी ढुवानी व्यवसायको जुन प्रकृति छ । यसलाई हेर्दाखेरी ढुवानी सेवा सम्बन्धि छुट्टै एउटा ऐनको आवश्यकता हो कि भन्ने मलाई चाहीँ महशुस हुन्छ । त्यसका निम्ति मैले के गर्नसक्छु । त्यसका लागि तपाईहरुले राम्रो वर्कआउट गर्नुस । तपाईहरुले ड्राफ्ट गरे हुन्छ ।
तपाईहरुले निर्वाचित गरेको एउटा सांसद म हो । ३ करोड नेपाली जनतामध्ये एउटा सांसद तपाईहरु पनि हो । सबै सांसद हो, सबै माननीय हो । सार्वभौमसत्ता सम्पन्न मुलुकमा सबै नागरिकहरु आफैंमा एउटा सांसद हो । आफैमा एउटा प्रतिनिधि हो । सबैले आफ्ना कुराहरु नीति निर्माणमा कहीँन कहीँ प्रतिविम्बित गर्ने अधिकार छ । तपाईहरुले त्यसमा मलाई सहयोग गर्नुस् । लेखेर ल्याउनुस् ।
विद्यमान मौजुदा ऐनमा यस्ता व्यवस्था छन, जसले हाम्रो व्यवसाय प्रवद्र्धनका लागि गाह्रो भयो । यसमा यस ढंगले संशोधन गरिदिनु भयो भने हाम्रो व्यवसाय पनि प्रवद्र्धन भएर जान्छ । राज्यलाई टेवा पुग्छ । यस हिसावले अगाडि बढदा समग्र देशको हित हुन्छ । र हाम्रो समृद्ध नेपालः सुखी नेपालीको जुन परिकल्पना हो, सपना हो ।
त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि हाम्रो ठाउँबाट यसरी योगदान गर्न सकिन्छ भनेर तपाईहरुले लिएर आउनुस् । त्यसलाई मैले राम्रोसँग अध्ययन गर्छु । र सम्बन्धित यहाँहरुको समस्या समाधानका लागि म जिम्मेवारीका साथ लाग्छु ।