नेसपा सहअध्यक्ष श्रेष्ठको दाबी- सिंगो पार्टी नै माओवदी केन्द्रसँग एकता गर्न लागेको छ (भिडिओ) – Nepal Press

नेसपा सहअध्यक्ष श्रेष्ठको दाबी- सिंगो पार्टी नै माओवदी केन्द्रसँग एकता गर्न लागेको छ (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन् ।

शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका हुन् ।

 

उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको बताए । उनले नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए ।

उनले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमति भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए । उनले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अनुरुप अगाडी बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए ।

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानूनी रुपमा आफूहरु माओवादी केन्द्रको सांसद भएको बताए । आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उनले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताए ।

उनले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको बताए । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको विरोधी भएका उनको भनाइ छ ।

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए ।

यस्तो छ श्रेष्ठको भनाइः

अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो ।

नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरी नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बिचमा संयुक्त बैठक बसेको हो ।

त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रिय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन ।

आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय ग¥यो । पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडी नै हामी तयार भएको हो नि । विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ । र पार्टी एकता गर्न नसकिसके पछाडि नेकपा(माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिन्ह हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो ।

त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौँ नि त । हामी डेढ वर्ष अगाडीको जुन सहमती हो । त्यो सहमती अन्तर्गत नै अगाडी बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पुर्याएका छौँ ।

हामीले अहिले चाहेर पनि नेपाल समाजवादी पार्टीको सांसद भनेर कानूनी रुपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसावले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानूनी हिसावले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ ।

हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडी महेन्द्रजी यहाँ मन्त्री हुनुभयो । अहिले पुर्नगठनमा पर्नु भएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु । हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरुले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो ।

सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि । त्यसकारणले व्यवहारिक रुपमै त्यो खण्डन भइसकेको छ । मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन । मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन ।

राजनीतिक ढंगले हामीले जुन निर्णय गर्यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमान्दार भएर, प्रतिवद्ध रहेर हामी अगाडी आइराखेका छौँ । जो साथीहरुले यसो(सत्ताको लागि) भन्नुहुन्छ, उहाँ साथीहरुले पार्टी एकता चाहनु हुन्न । सत्य कुरा त्यो हो ।

दुई पार्टी सँगसँगै अरु पार्टीहरुलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो बीचमा छलफल चलेको छ । तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर