बाबुराम छाडेर माओवादीमा मिसिएका महेन्द्रले नेसपाका कति नेताको पाउलान् साथ ?
नेता पोखरेल भन्छन्- पार्टीले कारबाही गर्छ, हामी अदालती प्रक्रियामा जाँदैछौं


काठमाडौं । डा.बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता नगर्ने मूड देखाएपछि अर्का अध्यक्ष महेन्द्रराय यादवले पार्टी विभाजन गरेरै एकता गर्न तयार भएका छन्। बाबुरामसँग विभाजित भएर शनिबार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो।
डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला प्रचण्डले सो पार्टीका सांसदहरुलाई माओवादीमा बिलय गराएका हुन्। नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन्। त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन्। उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन्।
यादव पक्षका नेताहरु माओवादीमा बिलिन हुन तयार भएपनि पार्टी माओवादीसँग एकताको पक्षमा नरहेको नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले बताए। उनले भने, ‘उहाँहरु गएको निर्वाचनमा पनि महेन्द्र र गंगाजीहरुले माओवादीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँहरुले माओवादीमै लेबि तिरेर माओवादीकै परिचयपत्र भिरिराख्नुभएको छ। एक बर्षको पहिलेको माओवादीले फेरि अहिले नेसपा विकाएर एकता भन्नु लाजमर्दो हो। यो उहाँहरुको व्यक्तिगत निर्णय हो यसमा पार्टीको कुनै सम्बन्ध छैन।’
भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिले पार्टी छाडेर जानेहरुविरुद्ध कारवाहीको विषयमा निर्णय गर्ने बताए। उनले थपे, ‘बैठकले महाधिवेशन आयोजक समिति बनाउँदैछ। आयोजक समितिबाट पद जाने भएकाले हतास मनस्थितीले पार्टी प्रवेश गरेको प्रपञ्च मात्रै हो। उहाँहरु अहिले पनि माओवादी नै हो। दुई वा दुई भन्दा बढीले एउटै चुनाव चिन्ह लिएको भएकाले अब हामी अदालतमा जान्छौं। यसको प्रक्रिया हामीले सुरु गरिसकेका छौं। त्यो थाहा पाएर उहाँहरुले हतारमा पार्टी प्रवेश गर्न खोज्नुभएका हुन्।’
उनले पार्टीबाट निर्वाचित सांसदहरुको बिषयमा अदालतमा जाने तयारी भइरहेको बताए। उनले भने, ‘उहाँहरुलाई त पार्टीले कारवाही गर्छ। उहाँहरुले अहिले माओवादीको परिचयपत्र बोकिराख्नुभएको छ तर, उहाँहरु नेपाल समाजवादी पार्टीको सांसद हो भनेर अदालती प्रक्रिया अघि बढिरहेको छ। माओवादीमै लेबि तिरेर अहिले माओवादीसँगै नेसपाको एकता भनेर नाटक मात्रै गरेको हो। उहाँहरुको नेसपाको सांसद बनाउने मागसहित अदालतमा जान्छौं।’
उनले यादवलाई पार्टीका १० प्रतिशत केन्द्रीय सदस्यहरुले पनि साथ नदिने दाबी गरे। उनले भने, ‘अझै वैकल्पिक राजनीतिक शक्ति निर्माणको सम्भावना नदेख्नेहरु उहाँहरुसँग जानुहुन्छ होला। ९० प्रतिशत साथीहरुलाई पार्टीलाई नै अगाडि बढाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। हिजोका दिनमा पनि माओवादी भएकाहरु आज उहाँहरुसँग जान राजी हुनुहुन्छ। हामीले केन्द्रीय कमिटीका १० प्रतिशत भन्दा धेरै जानुहुन्न भन्ने अनुमान गरेका छौं।’
नेसपामा २६७ सदस्यीय केन्द्रीय कमिटी छ। उनले थपे, ‘उहाँहरुले हतास मनस्थितीले अहिले सहमति गर्नुभएको। छ उहाँहरुको सांसद पद जान्न भनेर सुरक्षित अवतरण गर्नुभएको हो। नेसपाको पद विकाएर माओवादीसँग बार्गेनिङ गर्न रचिएको षड्यन्त्र हो।’
माओवादीमा बार्गेनिङ गर्नको लागि समाजवादी पार्टीको नाम भजाएर एकता भन्नु माओवादीको कति कमजोर र हतोत्साहित मानसिकता रहेछ भन्ने पुष्टि भएको बताए। तर, यादव पक्षले पनि आफूहरुलाई बहुमत सदस्यले साथ दिने दाबी गर्दै आइरहेका छन्।