कांग्रेसको संसद अवरोध सरकार छोड्नुपर्दाको पीडा हो : प्रमुख सचेतक बर्तौला (भिडिओ)


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबारको कांग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रुपमा चित्रण गरेका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए । उनले कांग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताए ।
उनले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे । उनले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्ने बताए ।
‘नेपाली काँग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा काँग्रेस हुन्छ होला भन्ने लागेको थिएन । काँग्रेस पानी बिनाको माछा झैँ छटपटी जस्तो भएको छ । तीन दिन भयो विश्वासको मत लिएको सरकारले’, उनले भने, ‘यस प्रकारले काँग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने जे अवस्था सिर्जना गर्यो, यसले वास्तमा लाज पनि लजाउने अवस्था भएको छ । नेपाली काँग्रेसले आफूलाई सोच्नुपर्छ । जे उहाँहरुले गर्नुभयो, यति महत्वपूर्ण विनियोजन विधेयकका प्राथमिकतामा छलफल थियो, त्यसमा पनि बिरोध गर्नुभयो, काँग्रेसले जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याओस्, यो आग्रह छ ।’
उनले कांग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण विधेयकहरुमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताए ।