प्रचण्डले कांग्रेसलाई मात्र होइन, आफ्नै कार्यकर्तालाई पनि धोका दिनुभयो : उदय राणा


रामेछाप । नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता सहकार्य भत्काएर आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि धोका दिएको दाबी गरेका छन् ।
नेपाल तरुण दल रामेछापको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्डले निष्ठाको राजनीतिको अवमूल्यन गरेको आरोप लगाए ।
‘गठबन्धन टुटेकोमा हाम्रो आपत्ति छैन तर उहाँले निष्ठाको राजनीतिको मूल्य गुमाउनुभयो । हिजो चुनावमा गरेको बाचा तोड्नुभयो । पुरानो कुरा बिर्सेर अब हामी मिलेर जान्छौँ भनेर चुनावमा एकले अर्कोलाई भोट माग्यौ तर आज प्रचण्डले त्यसमा धोका दिएर तीन तीन पटक गठबन्धन तोड्नुभयो’ प्रतिनिधि सभा सदस्यसमेत रहेका राणाले भने, ‘उहाँमा इमान्दारिता देखिएन, राजनीतिमा नैतिकताको ठूलो अर्थ हुन्छ त्यो उहाँमा खडेरी देखियो । धोकैधोकाको राजनीति गर्नुभयो । उहाँले काङ्ग्रेसलाई मात्रै होइन, आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिनुभयो । हिजो काङ्ग्रेसलाई भोट हाल्ने माओवादी कार्यकर्तालाई अन्याय गर्नुभयो ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि काङ्ग्रेसमाथि गलत आरोप लगाइरहेको उनको भनाई थियो।
‘अहिले गठबन्धन भत्किनुको आरोप कांग्रेसमाथि लगाउनुभएको छ, त्यसमा कुनै सत्यता छैन । उहाँको प्रवृत्ति नै धोका दिने हो’, उनले भने, ‘कांग्रेसका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाउने प्रधानमन्त्रीले अहिले सरकारमा कस्ता व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । त्यसले पनि प्रचण्डको प्रवृत्ति छर्लङ्ग हुन्छ ।’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नियुक्तिको विषयमा उनले आपत्ति जनाए । ठुला ठुला विवादमा परेको र प्रहरी छानबिनकै क्रममा रहेको व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिनु गलत भएको भन्दै विरोध जनाए ।
कांग्रेस रामेछाप काङ्ग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको गठबन्धन १०० दिन नटिक्ने दाबी गरे । उनले प्रचण्डले कांग्रेसलाई धोका दिएको भन्दै उनले भने, ‘अब यो सरकारलाई १०० दिन पूरा हुन दिँदैनौ । काङ्ग्रेस फेरि सत्तामा आउँछ ।’
तरुण दल अध्यक्ष विद्वान गुरुङले दुई दुई वटा नागरिकता, पासपोर्ट, सहकारी प्रकरणमा मुछिएका व्यक्ती गृहमन्त्री भएको भन्दै आपत्ति जनाए । उनले माओवादी नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।