सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी

काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलको बैठक बसेको छ। आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो ।

कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए । साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको पौडेलले बताएका छन् ।

राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको उनले बताए ।

उनले भने, ‘आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं । हामीले अन्तिम रूप दिएका छौं । आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्नुहुन्छ ।’

जसपा प्रवक्ता तथा कार्यदलका सदस्य मनिष सुमनले प्रतिवेदनमा सुशासनलाई प्राथमिकता दिएको बताए ।

उनले भने, ‘हामीले अहिले सुशासनलाई प्राथमिकता दिएका छौँ। कृषि स्वास्थ्यसहित जनताको निराशा अन्त्य गर्नको लागि सामूहिक सानो प्रतिबद्धता जनाउन लागेका हौँ ।’

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर