राजेन्द्र महतोको आरोप- जब प्रचण्ड ‘दाहाल’ बने अनि भुले पहिचानको मुद्दा


हेटौँडा । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले नेपालमा पहिचानको आन्दोलनलाई माओवादीले चटक्कै छाडेको बताएका छन् । बुधबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै महतोले पहिचानबादीलाई धोका दिने काम माओवादीबाट सुरु भएको बताए ।
तत्कालीन माओवादीले आफ्नो १० वर्षे जनयुद्ध पहिचान सहितको संघिय गणतन्त्रको लागि भनेर गरेको तर अध्यक्ष प्रचण्ड ‘दाहाल’को रुपमा स्थापित भएपछि पहिचानलाई बीच बाटोमै छाडी सरकार बनाउने र गिराउने खेलमा लागेको आरोप लगाए ।
उनले भने, ‘जुन दिनसम्म उहाँ ‘प्रचण्ड’ हुनुहुन्थ्यो, माओवादीभित्र पहिचानको मुद्दा दरिलो थियो, तर उहाँले जुन दिनबाट आफूलाई ‘दाहाल’को रुपमा स्थापित गर्दै सत्ताको खेलमा लाग्नुभयो उहाँहरुको पार्टीमा पहिचानवाद पनि अस्तायोे ।’
नेपालमा पहिचानवादीहरु एक भएर उभिन नसक्दा एकल राज्यको सञ्चालकहरुलाई सहज वातावरण निर्माण भएको भन्दै उनले अबै देशभरका पहिचानवादीहरु एक भएर एकात्मक राज्यसत्तालाई अन्त्य गर्नुपर्ने दिन आएको बताए ।
नेपालमा बहुल जातिय संस्कृति रहेको बताउँदै महतोले एकल जातीय सोचको अवधारणा लागु भईन्जेल देशले समृद्धि हाँसिल गर्न नसक्ने ठोकुवा गरे । नेपाल एकिकरणको समयमा पृथ्वी नारायण शाहले पनि नेपाल विभिन्न जातजातीको फुलबारी भएको सन्देश दिएको तर नेपालमा हालसम्म एकल जात बाहेकलाई सहज हुने गरि मात्र संविधान निर्माण भएर राज्यसत्ता सञ्चालन हुँदै आएको उनको भनाई थियो ।
बहुल राष्टलाईलाई स्विकार गर्न नसक्दा नेपालको संविधानहरु पटक–पटक फेल भएको बताउँदै महतोले आफुहरुले सबै जातजातिको राज्यमा उत्तिकै पहुँच, अधिकार हुनपर्छ भन्दा बेलाबखत आफ्नो पुत्ला दहन हुनेजस्ता घटना भएको बताए ।
अहिलेसम्म नेपालमा थारु, मधेस, लिम्बुवान, ताम्सालिङ, नेवा लगाएतका जातीय समाज एक्लाएक्लै लडेको कारण बहुल राज्य स्थापना हुन नसकेको भन्दै उनले अबै सबै ठाउँबाट सबै एकैपटक लडने समय आएको र त्यो मुक्तिको क्रान्ति हुने उनको दाबी छ ।
नेपालमा नश्लिय चिन्तन बोकेका कांग्रेस–कम्युनिष्टहरु भईन्जेल सम्बृद्धिको कल्पना समेत गर्न नसकिने भन्दै उनले अब सबैको अपनत्व हुने राष्ट्र निर्माण गरेर देश विकास गर्नुपर्ने बताए । पहिचान सहितको संघिय गणतन्त्रको लागि आम नेपालीले रगत बगाएको तर नश्लिय सोच भएका दलहरुले नदिनालाको नामबाट राज्यको नामाकरण गर्दै बहुलवादी समाजलाई अपमान गरेको उनको भनाई रहेको छ ।