नाउपा सुदूरपश्चिम र लुम्बिनीका सांसदको बैठक : कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भन्दै बाहिरिए कैलाश


कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा संस्थापक केन्द्रीय सदस्यहरूको छलफल टिकापुरमा भएको छ ।
सुदूरपश्चिम प्रदेशका सात मध्ये ६ जना प्रदेश सभा सदस्यहरू उक्त बैठकमा उपस्थित थिए भने, लुम्बिनी प्रदेशका २ जना उपस्थित थिए । उनीहरू बिच प्रदेश सरकारलाई लिएर तीव्र मतमतान्तर भएको छ ।
नयाँ बनेको गठबन्धनमा सहभागी हुने या पुरानै गठबन्धनमा सहभागी हुने विषयमा बैठकमा छलफल भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए । ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितको अध्यक्षतामा बैठक बसेको थियो ।
उक्त बैठकमा सुदूरपश्चिमका घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरी, खुसीराम चौधरी, कैलाश चौधरी रामेश्वर चौधरी र इन्दिरा गिरी उपस्थित थिइन् । उता लुम्बिनी प्रदेशका लुम्बिनीका धर्मराज चौधरी र राजकुमार चौधरी पनि बैठकमा थिए ।
संस्थापक केन्द्रीय सदस्य मध्ये रमेश विक, रामलाल डगौरा, दामोदर पण्डित, बलवीर चौधरी , गङ्गा राम चौधरी उपस्थित थिए । टिकापुर नाउपाकै कार्यालयमा बसेको थियो ।
हिजो पनि नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक कैलालीको टिकापुरमा बसेको थियो । आज सुरुमा हिजोको बैठकको ब्रिफिङ रामलाल डगौराले गरेका थिए । उनी टिकापुर
नगरपालिकाका मेयर हुन् भने नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । त्यसपछि हालको सरकारको अवस्थामा छलफल भयो सुरु भएको थियो ।
‘पहिलो दिनको ब्रिफिङ पछि सरकारमा नाउपाका पनि मन्त्री सहभागी भएको र विश्वासको मत पाउन सक्ने वा नसक्ने विषयमा छलफल सुरु भएको थियो एक सांसद भने ‘त्यसपछि आ–आफ्नो धारणा राख्न सुरु भएको थियो ।
हामीले स्वतन्त्र सांसद र राप्रपाकी खेमादेवी बिस्टसँग पनि छलफलमा गरेका छौँ यो सरकारले विश्वासको मत पाउँछ रामेश्वर चौधरीले भने । चौधरी सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री हुन् ।
केही दिन अघि मात्रै विना विभागीय मन्त्री नियुक्त भएका खुसीराम चौधरीले पनि सबै सांसद एकैसाथ उभिएपछि सरकारले विश्वासको मत पाउन सक्ने जिकिर गरेका थिए । अर्थमन्त्रीमा नियुक्त भएका संसदीय दलका नेता घनश्याम चौधरीले भने, आफ्नै पार्टी भित्रको सबै सांसदले विश्वासको मत दिने विषयमा शङ्का रहेको बताएका थिए ।
‘हाम्रै साथीले दिन्नन् कि भन्ने शङ्का छ’ उनले बैठकमा भने । त्यसपछि कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीमा आफ्नै सांसदमा विश्वास छैन भने अरू दलका विश्वास कसरी गर्नहुन्छ भनेर प्रतिप्रश्न गरेका थिए ।
‘त्यस पछि उहाँहरू बिच केही बेर बाझाबाझ भयो’, बैठकमा सहभागी एक नेताले भने, ‘कैलाश चौधरीले बरु मलाई कारबाही गर्नुहोस् म यो सरकारलाई विश्वासको मत दिन्न भनेर निस्किनु भएको हो ।’
बैठकमा सहभागी ती नेताका अनुसार नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने, नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री हुँदा मात्रै आफूले विश्वासको मत दिने नत्र नदिने कैलाश चौधरीले पटक पटक बताएका थिए ।
आज ११ बजे भनेको थियो १२ बजे सुरु भएको थियो । ढिलो बैठक सुरु भयो कैलाश चौधरी कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भन्दै बैठक बहिस्कार गरेर निस्किनु भयो ती नेताले भने, ‘उहाँ निस्किएपछि अरू छलफल अगाडी बढेको थियो ।’
रामलाल डगौराले पनि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पाटीले मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने बताएका थिए । कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह अहिले अल्पमतमा परेका छन् । ५२ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।
यहाँ कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । अहिले राप्रपा र स्वतन्त्रका १्१ सांसदले पनि विश्वासको मत दिने भएपछि सुरक्षित रहने अवस्थामा पुग्ने प्रदेश सरकार कुनै एक सांसदले विश्वासको मत नदिँदा ढल्छ । यस्तो अवस्थामै बैठकमै नाउपाका सांसदले विश्वासको मत नलिने बरु कारबाही भोग्न तयार हुने भन्दै दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।