माधव नेपालले पनि प्रधानमन्त्रीको आश्वासन पाएका हुन् ? पाण्डेसँग प्रचण्डले भने- हाम्रो सल्लाह छ – Nepal Press

माधव नेपालले पनि प्रधानमन्त्रीको आश्वासन पाएका हुन् ? पाण्डेसँग प्रचण्डले भने- हाम्रो सल्लाह छ

एमालेले पाउने राष्ट्रियसभा उपाध्यक्ष खाली राखिनुको मतलब के हो, आफैं अनुमान गर्नुस्: पाण्डे

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा ढिला गरी सहभागी बनेको नेकपा एकीकृत समाजवादीले आज राष्ट्रियसभा अध्यक्षमा माओवादी उम्मेदवार नारायण दाहाललाई भोट हाल्न आनाकानी गर्‍यो । कारण थियो, भागबन्डामा थप दाबी ।

स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले संसदको यो कार्यकालमा आफू पनि एक पटक प्रधानमन्त्री बन्न पाउनुपर्ने माग अघि सारेका थिए । यसैगरी राष्ट्रियसभा उपाध्यक्षमा पनि उनको दाबी थियो ।

यसअघि भएको चार दलीय सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले पाउने उल्लेख भएकोमा त्यसलाई सच्याउनुपर्ने अडान नेपालले लिएका हुन् । अन्यथा दाहाललाई भोटै नहाल्ने भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली लचक भए ।

नेतात्रयबीच भएको सहमतिअनुसार यसअघि भएको आठ बुँदे सहमतिको एउटा बुँदा सच्याएर नेपालको हस्ताक्षर थपिएको छ । यसअघि नेकपा माओवादीले राष्ट्रियसभा अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने उल्लेख रहेको बुँदाबाट एमालेले उपाध्यक्ष पाउने वाक्यांश हटाइएको हो ।

यसको आशय नेकपा एसले उपाध्यक्ष पाउने भन्ने नै रहेको पार्टीका नेताहरुको दाबी छ ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘नेकपा एमालेले उपाध्यक्ष पाउने भन्ने यसअघिको सहमति काटिनुको आशय नेकपा एसले पाउने हो भनेर बुझ्न कठिन छ र ?’

यद्यपि, यसको स्वतन्त्र पुष्टि भएको छैन । यसका साथै माधव नेपाल पनि आलोपालोमा एक पटक प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको चर्चा चलिरहेको छ । यसअघि प्रचण्ड र ओली २-२ वर्ष प्रधानमन्त्री हुने अलिखित समझदारी भएको गाईंगुईं चलिरहेको थियो । तर, कसैले पनि हो भनेका छैनन् । यसमा अहिले नेपालको समेत नाम थपिएको छ ।

उपाध्यक्ष पाण्डेले यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्ड र नेपाललाई जिज्ञासा राखेको बताए ।

‘आज उहाँहरु दुवै सँगै भएको बेला मैले सोधेको थिएँ । प्रधानमन्त्रीले ‘यसमा हाम्रो सल्लाह छ’ मात्र भन्नुभयो । मैले बुझेसम्म लिखित सहमति त भएको छैन, तीन नेताबीच जेन्टलमेन्ट एग्रिमेन्ट भएको हुनुपर्छ’, पाण्डेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर