अंकगणितको खेलमा एक सांसदको भूमिका पनि महत्वपूर्णः सीके राउत


रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले चुनावमा सहभागी भएको पहिलोपटकै जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको र अब सीट तथा मतको संख्यालाई बढाउनुपर्ने बताएका छन् ।
रुपन्देहीको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समिति कार्यालय सोमबार उद्घाटन गर्दै अध्यक्ष राउतले पहिलो पटकमै जनमत राष्ट्रिय पार्टी बन्नु जनताको माया र स्नेहको परिणाम भएको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राउतले लुम्बिनी प्रदेशमा १ जना सांसद जता गयो, उतै सरकार बन्ने अवस्था रहेको भन्दै एउटामात्र सीटको धेरै महत्व रहेको धारणा राखे ।
उनले भने, ‘एक जना माननीयज्यू जता लाग्नुहुन्छ, त्यही पक्षको नेतृत्वमा सरकार बन्ने अवस्था छ । हामीले पनि ३ वटा सीटभन्दा ४ वटा जितेको भए कति फरक पर्थ्यो । पार्टीले क्लष्टर, सीट संख्या र मत बढाउनुपर्छ । अनि मात्र केही उपलब्धि संस्थागत गर्न सक्छौं ।’
कुन पार्टीले कति सीट ल्यायो भन्ने लोकतान्त्रिक व्यवस्था र अंकगणितको खेलमा धेरै महत्व राख्ने उनले बताए । कसको कति सीट छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्ने उनको भनाइ छ ।
उनले ४० वर्षअघिका समस्या अहिले पनि यथावत रहेको बताउँदै मुलुकमा देखिएका समस्या समाधानका लागि सामाजिक लोकतन्त्र ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय पूँजी निर्माण गरेरमात्र विकास गर्न र रोजगारी सिर्जना गर्न सकिने नेता राउतको भनाइ छ ।
‘समाजवादउन्मुख भनेरमात्र हुँदैन । शिक्षा, स्वास्थ्य राज्यले हेर्ने तर, उद्योगधन्दा निजी लगानीमा सञ्चालन गरेर विदेशिएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिन्छ’, उनले भने ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री एवं जनमतका नेता चन्द्रकेश गुप्ताले सरकारमा रहँदा पनि गलत कामको विरोध गर्नुपर्ने बताए ।
जनमत पार्टी लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ताले प्रदेशलाई पूर्ण अधिकार दिन कांग्रेस, एमालेलगायतका दलले नचाहेको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई स्वागत गरिएको केन्द्रीय सचिव भोपेन्द्रप्रसाद यादवले बताए ।