विराटनगर महानगरमा एमालेले ‘म मेरो वडा आफैं बनाउँछु’ अभियान चलाउने – Nepal Press

विराटनगर महानगरमा एमालेले ‘म मेरो वडा आफैं बनाउँछु’ अभियान चलाउने

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले सङ्गठन सुदृढीकरणका लागि ३२ दिने ‘म मेरो वडा आफैं बनाउँछु’ अभियान सञ्चालन गर्ने भएको छ ।

महानगर कमिटीको नवौं पूर्ण बैठकले महानगरमा पार्टीलाई बलियो र चलायमान बनाउन ३२ दिनसम्म अभियान सञ्चालन गर्ने योजना बनाएको हो ।

अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण गर्दै वडाहरूको व्यवस्थापन, टोल कमिटी पुनर्गठन गरिनेछ । त्यस्तै जनसङ्गठनको गठन तथा पुनर्गठन एवम् व्यवस्थापन गरिने एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए ।

उनले अभियानको अवधिभर भेला बैठक, जनतासँग जनप्रतिनिधि र जनसरोकारका विषयमा खबरदारीलगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्नेछ ।

यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बीचमा जाने निर्णयसमेत भएको सचिव रोहित कोइरालाले बताए ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जनताका बीचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर