तिनाउका सबै जनप्रतिनिधि भ्रमणमा


रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्याक्ष देखि सबै वडाका जनप्रतिनिधिहरु एकैपटक ४ दिने भ्रमणमा निस्केका छन् ।
उनीहरुको सामुहिक भ्रमणले पालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिसलगायतका काम नहुने भएका हुन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराइसकेका छन् ।
यी दुई दिन कुनै सार्वजनिक विदा वा विशेष दिन नभई यहाँका जनप्रतिनिधिहरु पोखरा यात्रामा हुने भएकाले कार्यालयहरु खुलेपनि जनप्रतिनिधिबाट हुने काम नहुने भएका हुन् ।
तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले विभिन्न १० वटा विषयवस्तुमा छलफल तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्नका लागि पोखराको होटल पौवामा २ दिनसम्म तालिम सञ्चालन हुने जनाए ।
तालिम तथा गोष्ठीको नाममा जनप्रतिनिधिहरुले सिङ्गो गाउँपालिकाकै सेवा प्रभावित हुनेगरी आयोजना गरिएको भन्दै आलोचना भएको छ । वार्षिक कार्यतालिकामै राखेर कर्मचारी र जनप्रतिनिधिलाई भनि १३ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
यस पटक जनप्रतिनिधिहरुको पोखरा यात्रामा भने साढे ५ लाख बजेट खर्च हुने उनले बताए । ‘गाउँपालिकामै बैठक तथा तालिम सञ्चालन गर्दा जनप्रतिनिधिहरुले समय दिन नसक्ने तथा व्यस्त हुने भएकाले त्यसमा ध्यान नजाने हुँदा पोखरा पुगेर कार्यक्रम आयोजना गर्नुपरेको हो ।’–उनले भने । जनप्रतिनिधिहरु शनिबार नै पोखरातर्फ लागेको र फागुन २९ गतेविहान पोखराबाट फर्किने बस्नेतले जानकारी दिए ।