नयाँ समीकरणमा सहभागी हुन किन तयार छैनन् साना दल ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि बनेको गठबन्धनमा तत्काल अरु दल नमिसिने भएका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेकपा एमालेले गठबन्धनमा आबद्ध हुन आह्वान गरे पनि अन्य दल तत्काल सहभागी नहुने भएका हुन् ।
एमालेको सचिवालय बैठकमा राजनीतिक स्थायित्व र विकासको लागि भन्दै एमालेका महासचिव शंकर पोखरेलले अन्य दललाई पनि आउन आह्वान गरेका थिए । अहिले गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा एकीकृत समाजवादी छन् ।
गठबन्धन फेरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी थालिसकेका छन् । एमालेको ७८, माओवादीको ३२, रास्वपाको २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीले विश्वासको मत पाउने पक्का भएको छ ।
पाँच दलमध्ये जसपा अहिलेसम्म सरकारमा गएको छैन । अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्री र एक राज्यमन्त्री टुंग्याएर तयारी अवस्थामा बसेको भए पनि जसपा सरकारमा सहभागी भएको छैन ।
यी पाँच दलको साथ पाउँदा प्रचण्डलाई विश्वासको मत पाउन समस्या छैन । तर, प्रचण्डको कदमले संघदेखि प्रदेशसम्म उथलपुथल भएकाले नयाँ समीकरणको सरकार बनाउन साना दल आवश्यक भएपछि तत्काल उनीहरु सरकारमा नआउने भएका छन् । साना दलले सरकारमा सहभागी हुन आआफ्नै शर्त तेर्स्याइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चार दलबाट अहिलेसम्म १९ मन्त्री नियुक्त गरिसकेका छन् । प्रचण्ड र ओलीले सरकारमा आउने अपेक्षा राखेका जनमत, नागरिक उन्मुक्ति र लोसपाले तत्काल आफूहरु प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।
आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।
उनले भने, ‘हाम्रो मुख्य बटमलाइन मधेश सरकारको नेतृत्व हो । तर, त्यो नै नपाउने भएपछि हामी किन जाने ? त्यसैले अहिले सरकारमा नजाने निर्णय गरिसकेका छौं । हामी संसदमा प्रतिपक्षमा बसिसक्यौं ।’
मधेश सरकारको नेतृत्वको निरन्तरताको सुनिश्चिता नभएको भन्दै जसपाले पनि सरकारमा जान ढिलाइ गरिरहेको छ ।
प्रवक्ता यादव थप्छन्, ‘अघिल्लो गठबन्धन भए पनि प्रचण्ड प्रधानमन्त्री हुँदा नै जसपाले एक वर्ष नेतृत्व गरिसकेपछि हामीलाई दिने सहमति भएको थियो । तर, अहिले त्यो कार्यान्वयन नहुँदा हामीले मात्रै साथ दिने कुरा भएन ।’
यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । गठबन्धनको सहमति विपरीत हिँडेको भन्दै लोसपा पनि प्रचण्डसँग सन्तुष्ट छैन ।
लोसपा नेता सुरेन्द्र झाले आफूहरु तत्काल सरकारमा नजाने बताए । त्यसो त एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि महन्थमाथि सरकारमा नजान भूराजनीतिक दबाब पनि रहेको बताइन्छ ।
यसअघि प्रचण्ड सरकारमा सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । नाउपाले प्रचण्ड सरकारमा जान सुदूरपश्चिम सरकारको नेतृत्व दाबी गरेको थियो । तर, त्यहाँ अहिले कांग्रेस नेतृत्वकै सरकारमा तीन मन्त्री पठाएपछि नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद बढेको छ ।
यता, प्रचण्डले गठबन्धन भत्काएपछि त्यसको बदला लिन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको कांग्रेसले जनमत, नाउपा र लोसपाका अध्यक्षसँग सामूहिक छलफल गरिसकेको छ ।
पछिल्लो निर्वाचनपछि मात्रै प्रधानमन्त्री प्रचण्डले चार वटा गठबन्धन फेरिसकेको भन्दै सरकारको आयुमै आशंका राखेर साना दलहरु तत्काल सरकारमा सहभागी नभएको पनि चर्चा छ ।
त्यसो त प्रतिनिधिसभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिगामी शक्ति भएको भन्दै नयाँ गठबन्धनमा सहभागी नगराउने प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सहमति भएको छ ।
तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ गठबन्धनले राप्रपालाई लिँदैनौं भनेको विषयलाई नोटिसमा राखेको चेतावनी दिइसकेका छन् ।
‘कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो । कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो, हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौं’, उनको भनाइ छ, ‘हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस् । तपाईंको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस् ।’