जनकपुरमा राजेन्द्र महतोको भेला, नजान कार्यकर्तालाई लोसपाको अनुरोध


जनकपुरधाम । लोसपा त्यागेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका राजेन्द्र महतोले शनिबार जनकपुरधाममा भेलाको आयोजना गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ बजेदेखि कार्यक्रम राखिएको छ । वर्तमान राजनीतिक अवस्था र भावी राजनीतिक कार्यदिशा विषयमा उनले सम्बोधन गर्ने कार्यसूची छ ।
महतोनिकट नेता सञ्जय चौधरीले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि आन्तरक्रिया कार्यक्रम राखेको बताए ।
उनले भने, ‘यो आन्तरक्रियामा कुनै पनि दलका नेता कार्यकर्ताहरु सहभागी हुन सक्छन् । हामीले सबैलाई निम्तो गरेका छौं ।’
१४ फागुनमा महतोले लोसपा छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा गरेका थिए । पार्टी परित्याग गरिसकेकाले महतोको कार्यक्रममा सहभागी नहुन लोसपा धनुषाले नेता कार्यकर्तालाई अनुरोध गरेको छ ।
लोसपा धनुषाका सचिव राजकुमार साहले विज्ञप्ति जारी गर्दै जिल्लामा हाल पार्टीको कुनै पनि कार्यक्रम नरहेको जनाएका छन् । लोसपाको कार्यक्रमको नाममाा झूठा सूचना दिएर बोलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘लोसपा नेपालको कुनै पनि सदस्य ज्यूहरूलाई पार्टीको अधिकारिक सूचनाविना उपस्थिति नहुन अनुरोधका साथ जानकारी गराउँदछौं,’ लोसपाको विज्ञप्तिमा लेखिएको छ ।