स्थानीय तहमा खरो उत्रिँदै महिला जनप्रतिनिधि: यी ६ उदाहरणीय अनुहार


काठमाडौं । आज मार्च ८ अर्थात् विश्व नारी दिवस । महिला सशक्तीकरणलाई लिएर संसारभर विविध कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर नारी दिवस मनाइँदैछ ।
नेपालमा पछिल्ला वर्षहरुमा समाजका हरेक क्षेत्रमा महिला सहभागिता उल्लेख्य रुपमा बढिरहेको छ । राजनीतिमा पनि महिलाहरुले बलियो उपस्थिति देखाउन थालेका छन् । खासगरी स्थानीय तहमा संविधानले नै अनिवार्य गरेको हुँदा महिलाको प्रभावशाली उपस्थिति रहेको छ ।
संविधानतः कुनै पनि राजनीतिक दलले मेयर र उपमेयरमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला हुनुपर्छ । यद्यपि, यसमा पनि दलहरुले मेयरमा महिलालाई विश्वास गरेका छैनन् र अधिकांश उपमेयरमै खुम्च्याइएका छन् । तर, महिला जनप्रतिनिधिहरुको कार्यसम्पादन पुरुषको भन्दा कमजोर नभएको बरु उनीहरुले पुरुषलाई पनि उछिनिरहेको वस्तुगत यथार्थ हो । घरधन्दा सम्हाल्नुपर्ने, घरपरिवार हेर्नुपर्ने जिम्मेवारीका बावजुद उनीहरु आफ्नो जिम्मेवारीमा खरो उत्रिरहेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुँदा ४१ प्रतिशत अर्थात १४ हजार ४६६ जना महिला निर्वाचित भए । तर, ७५३ स्थानीय तहका प्रमुख तथा अध्यक्षमध्ये तीन प्रतिशत अर्थात २५ जनामात्रै महिला छन् । ७५ प्रतिशत अर्थात ५६८ जना उपप्रमुख एवम् उपाध्यक्षमा महिला निर्वाचित भएका थिए ।
देशभरका ६ हजार ७४३ वडामध्ये एक प्रतिशतमात्रै अर्थात् ६९ जनामात्रै महिला निर्वाचित भए । दुईदुई खुला वडा सदस्य गरेर १३ हजार ४८६ जना निर्वाचित हुँदा तीन प्रतिशत अर्थात ४४२ जना महिला निर्वाचित भए । बाँकी ६ हजार ७४३ वडामा एकएक जना दलित महिला सदस्य गरेर ६ हजार ६४२ ले जितेका थिए । यस्तै ६ हजार ७४३ वडामै दलित महिला सदस्य निर्वाचित हुनुपर्नेमा १२३ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेका कारण ६ हजार ६२० जना दलित महिला सदस्य निर्वाचित भए ।
स्थानीय तहमा रहेर उत्कृष्ट कार्यसम्पादन गरिरहेकामध्ये हामीले प्रतिनिधिमूलक ५ जना महिला प्रतिनिधिलाई यस रिपोर्टमा प्रस्तुत गर्दैछौं । उनीहरुको विस्तृत कथा आगामी दिनमा क्रमैसँग प्रकाशित गरिनेछ । नेपाल प्रेसका प्रदेश सहकर्मीहरु सुमन पुरी, प्रतिमा सिलवाल, रामप्रसाद आचार्य, रिखिराम जिसी, अप्सरा विष्ट र भानुभक्त आचार्यको सहयोगमा यो रिपोर्ट तयार गरिएको हो । स्मरण रहोस्, यहाँ प्रस्तुत जनप्रतिनिधिहरु प्रतिनिधिमूलक हुन् ।
जनताको तिर्खा मेटाउन लडिरहेकी विमला
पञ्चायतकालमा लामो समय प्रधान पञ्च बनेका दानबहादुर राईकी सातौं सन्तान विमला राईले लामो समय एनजीओमा काम गरिन् । विमलाकै शब्दमा भन्ने हो भने, ‘एनजीओको झोला’ बोकिन् ।
एनजीओको झोला बोक्न छाडेपछि राजनीतिमा होमिइन् । २०७४ सालको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् । २०७९ को निर्वाचनमा मेयर निर्वाचित भइन् ।
उनी निर्वाचित भएको नगरपालिका धार्मिक पर्यटनको केन्द्र हो । तर, यहाँ पानीको हाहाकार छ । उपमेयर भएदेखि नै नगरवासीलाई पानी खुवाउने सपना देखेकी विमलाले आंशिक सफलता हात पारेकी छन् । अहिले ४ वटा वडामा दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट रिजर्भेसन ट्यांकीमा झरेको छ । घरघरमा धारा जडान भएका छन् ।
राई भन्छिन्, ‘अब सबै वडामा खानेपानी पुर्याउने योजना छ । त्यसपछि पर्यटन प्रवर्द्धन र आन्तरिक उत्पादनमा जोड दिनेछु । हलेसीमा पर्यटन व्यवसाय बढाउन किराँतको उद्गमस्थललाई अझ प्रमोट गर्नेछु ।’
नगरभित्रका ९० सामुदायिक विद्यालयमा कक्षा ४ भन्दा माथि अध्ययनरत विद्यार्थीहरूका लागि नगरपालिकाले एकीकृत परीक्षा प्रणाली सुरु गरेको छ । जसले पालिकाको अवस्था कहाँ छ भनेर पत्ता लगाउँछ ।
साथै किसानको तरकारी नगरपालिकाले खरिद गरेर आफैं बिक्री वितरण गर्नेदेखि किराँत संस्कृति जोगाउन कपास खेतीसम्मका काम राई नेतृत्वको नगरपालिकाले गरिरहेको छ । बर्थिङ सेन्टरदेखि नगरपालिकाकै ५ बेडको अस्पताल हुँदै बालिबालिकाको शिक्षा र संरक्षणका लागि वार्षिक ४ हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने काम भइरहेको छ ।
ताराकाजी महतो : कार्यालय सहायकदेखि मेयरसम्म
गएको स्थानीय निर्वाचनमा चितवनको माडीका स्थानीय थारु बस्तीमा पुगेर आफ्नो मेयर कार्यकालका उपमेयरको विरुद्ध ठाकुर ढकालले भनेका थिए- छोरीचेलीलाई भोट दिने होइन । सुनको सिक्री दिएर पठाउने हो ।
आफ्नो चुनावी अभियानमा शान्त स्वभावकी ताराकाजी महतोले कुनै प्रतिक्रिया दिइनन् । आफ्नै सरल शैलीमा माडीका ९ वटै वडाका घरघर पुगिन् । आफू उपप्रमुख हुँदा गरेको कामबारे मतदाताहरुलाई खुलेर बताइन् । अब प्रमुखमा जिम्मेवारी दिएर गर्नसक्ने सम्भावनाबारे प्रस्ट पारिन् र गठबन्धनबाट दलहरु मिलाएर उठेका प्रतिद्वन्द्वी पुरुषका महिलाद्वेषी अभिव्यक्तिलाई निर्वाचित भएर जवाफ दिइन् ।
उनको समन्वयात्मक शैली गजबको छ । उनीभन्दा फरक मत राख्नेहरु पनि उनको शैलीको तारिफ गर्छन् । समकक्षी पनि उनको सरल स्वभावको फ्यान छन् ।
२०६१ सालमा बघौडा गाविसमा कार्यालय सहायक हुँदै मेयरसम्मको उनको यात्राको आरोह–अवरोह चुनौतीले भरिएका छन् । छोरीसँगै १२ कक्षा पास गरेकी उनको २० वर्षको उमेरै विवाह भएको थियो । कार्यालय सहायकबाट वडा सचिव हुँदै मेयर बनेकी उनको सक्रिय राजनीतिक पृष्ठभूमि होइन । न पारिवारिक माहोल नै राजनीतिक थियो ।
नेकपा एमालेले २०७४ सालमा थारु बहुल वस्तीमा उपमेयरको उम्मेदवार बनाएपछि उनको जनप्रतिनिधिको यात्रा अगाडि बढेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनले यूटर्न गरिदिएको उनको जीवनको यात्रा मेयरसम्म आइपुगेको छ । महिला मेयर भएकाले उनको सकसपूर्ण अनिभूति छ । भन्छिन्, ‘पुरुषहरु चिया चौतारामा हाट्टहुट्ट गर्ने आफ्नो कामको प्रचार गर्ने गरिहाल्छन् । म जुनै पदमा पुगे पनि महिला नै हो । आफ्नो प्रचार गर्न भ्याइँदैन, दायित्व बढी छ । त्यसैले हल्ला कम हुन्छ र म हल्लामा होइन, काममै बढी विश्वास पनि गर्छु ।’
बडिगाड गाउँपालिकाकी रक्षक: गण्डकी थापा
२०७४ सालको स्थानीय तह निर्वाचनअघि उम्मेदवारका लागि छलफल चल्दै थियो, बागलुङ कांग्रेसमा । तत्कालीन जिल्ला सहसचिव रहेकी गण्डकी थापाले बडिगाड गाउँपालिका अध्यक्षको टिकट मागिन् । उनको यो दाबेदारी पार्टी पंक्तिका लागि अप्रत्याशित थियो ।
११ वर्षदेखि शिक्षण पेशामा रहेकी उनले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिने मनस्थिति बनाइसकेकी थिइन् । परिवारबाट पनि ग्रीन सिग्नल पाइसकेकी थिइन् । त्यसैले टिकट पाउने आशामा उनले राजीनामा दिइन् र राजनीतिक बाटोमा मोडिइन् ।
पार्टीले पनि उनलाई टिकट दियो । तर, चुनाव भने हारिन् । हारपछि अझै सक्रिय राजनीतिमा होमिएकी उनी २०७९ सालमा अध्यक्षमा निर्वाचित भइन् ।
थापा भन्छिन्, ‘महिला पनि कार्यकारिणी पोस्टमा हुन सकियो भने केही गर्न सकिन्छ, निर्णायक तहमा पुग्न सकिन्छ जस्तो लाग्थ्यो । इच्छाशक्ति भयो भने कसैले पनि रोक्न सक्दैन । न परिवारले रोक्न सक्छ, न समाजले रोक्न सक्छ, न त राजनीतिक दलले ।’
१८ वर्षसम्म प्रधान पञ्च भएर काम गरेका हजुरबा कृष्णबहादुर थापाले गरेका सामाजिक काम देखेर राजनीतिमा होमिएकी थापालाई सुरुमा महिला भएकैले उनको निर्णय क्षमतामाथि मान्छेहरुले प्रश्न गरेका थिए । अहिले ती प्रश्नको जवाफ काममार्फत् दिइरहेकी छन् ।
उनका हजुरबा झोलामा जडिबुटी लिएर बिरामीको उपचार गर्न गाउँगाउँ पुग्ने गर्थे । अन्न, लत्ताकपडा बोकेर जनताका घरघरमा जान्थे । यही प्रभावका कारण राजनीतिमा आएकी उनी अहिले जनताकहाँ औषधि पु¥याउँछिन्, एम्बुलेन्स लगिदिन्छिन् । रोजगारीको अवसर सृजना गर्न विभिन्न कामहरु गरिरहेकी छन् ।
मलाई नै फोन गरेर भन्छन्, ‘अध्यक्षलाई फोन दिनुस् न’
पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामी लुम्बिनी प्रदेशकै एकमात्र महिला अध्यक्ष हुन् । २०७४ मा उपाध्यक्ष जितेर जनताको मन जितेकी उनको आफ्नै खाले ख्याति छ- मौलिक योजना तथा कार्यक्रमहरु अगाडि बढाएकी अध्यक्ष !
४२ वर्षीया दर्लामीको परिवार सबै कांग्रेसप्रति आस्था राख्थे । तर, उनी परिवारसँग विद्रोह गरेर वामपन्थी बनिन् । परिवारसँग वारपारको स्थिति कतिसम्म छ भने तीन पटकसम्म कांग्रेसबाट निर्विरोध वडाध्यक्ष बनेका आफ्नै दाइले समेत अध्यक्ष निर्वाचित हुँदा उनलाई बधाई दिएनन् ।
२०५९ सालमा विवाह गरेर पाल्पा आएपछि स्वास्थ्य स्वयंसेविकादेखि विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चको संयोजक, महिला समन्वय समिति, वन समितिलगायत सार्वजनिक ओहदामा बसेर अहिले अध्यक्षको कुर्सीमा आइपुगेकी हुन् दर्लामी ।
‘काम गर्दा महिलालाई अघि बढ्न छेक्ने धेरै तगारा छन्, त्यसलाई छिचोलेर जानुपर्ने रहेछ’ उनको तीतो अनुभव छ, ‘सामाजिक संरचनाका कारण महिलालाई नेतृत्वमा पुग्न र टिक्न चुनौती छ । तर, हिम्मत गरेर अगाडि गए कसैले रोक्न सक्दैन । म प्रमुख भएपछि पनि धेरैले स्वीकार गर्न गाह्रो महसुस गरेको पाएँ । कति पटक मेरो मोबाइलमा फोन अध्यक्षज्यूलाई दिनुस् न भनेको, अनि तपाईं त होइन होला भनेको सुन्दा यो संरचना भत्काउन कठिन रहेछ भन्ने स्मरण हुन्छ । तर, लड्न छाड्ने होइन, लडेरै जित्ने हो ।’
महिला हिंसाविरुद्धकी कमान्डर देविकाकुमारी
कर्णाली प्रदेश भौगोलिक विकटताले थलिएको सत्य हो । यसका साथै विकासका पूर्वाधारमा पनि पछाडि नै छ । स्वास्थ्य, शिक्षा, विद्युत, यातायात र पूर्वाधारमा पनि खासै विकास भएको पाइँदैन । यहाँको भूगोल निकै कठिन छ ।
स्थानीय तहमा महिलाको नेतृत्वले समाजभित्र लुकेर रहेका महिलाका ससाना समस्यादेखि निर्णायक तहमा महिलाको पहुँचसम्म जोडदार प्रभाव पारेको देखिन्छ । यसैको एक उदाहरण हुन्, जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंह ।
उपाध्यक्ष सिंह २०७४ सालमा वडा अध्यक्षमा विजयी भएकी थिइन् । २०७९ मा नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भइन् । उनी पालिकाको विकास निर्माणमा सक्रिय रूपमा लागिपरेकी छन् ।
नेपाल विद्यार्थी संघबाट २०५३ सालमा राजनीतिक यात्रा सुरु गरेकी सिंह शिक्षक पेशालाई बिट मार्दै राजनीतिमा होमिएकी हुन् । जनप्रतिनिधिको रुपमा उनको एकै जोड छ, ‘महिला सशक्तीकरणका कार्यक्रम र आयआर्जन ।’ जसमा महिलालाई सिलाइकटाइ, ढकिया, मुढा बुन्ने जस्ता व्यवसायिक सीपमूलक तालिम दिने कामको नेतृत्व गरेकी छन् ।
उनकै नेतृत्वमा महिला हिंसासम्बन्धी कार्यक्रम पनि पालिकामा अगाडि बढेको छ । समाजमा रहेका कुरीतिले महिलालाई शताब्दीऔंदेखि गाँजेको र यहाँबाट महिलालाई मुक्त गर्नु नै उनको मुख्य योजना हो । यसैका लागि उनी लागिपरेकी छन् ।
उनले समग्र पालिकाको विकास गर्नुपर्ने कुरामा पनि जोड दिइरहेकी छन् । सडक, विद्युत नभएको हुँदा सुत्केरी महिलाहरु सधैं अप्ठेरोमा पर्ने गरेका छन् । यसको दीर्घकालीन समाधानका लागि पनि सिंह लागिपरेकी छन् ।
तर, समस्या जनताको सास्तीमात्रै होइन, पालिकामा पुग्ने बजेट पनि हो । उनी भन्छिन्, ‘स्थानीय तहमा भनेको जस्तो बजेट हुँदैन । पालिकामा सडक, विद्युत नभएको हुँदा काम गर्दा गाह्रो हुने गरेको छ । अर्को वर्ष बजेटले भ्याएछ भने यो योजना अगाडि बढाउने छु ।’
रेडियोमा अरुलाई प्रश्न सोध्थिन्, अहिले जनता नन्दालाई नै प्रश्न सोध्छन्
दुई वर्ष अघिसम्म रेडियो बाजुराकी समाचार प्रमुख नन्दा थापा बडिमालिकाको विकास, समृद्धि र नागरिकको जनजीवनका बारेमा तीखा प्रश्नहरु गर्ने गर्थिन् । उनै पत्रकार नन्दा अहिले आमनागरिकको प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा पुगेकी छन् ।
२०७९ सालको बाजुराको बडिमालिका नगरपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी नन्दा भन्छिन्, ‘वर्षौंसम्म बाजुराको गरिबी, अशिक्षा र महिला हिंसाबारे रिपोर्टिङ गरें । अहिले आफैं यस्ता समस्या हटाउने गरी काम गर्ने स्थानमा छु । हरसम्भव राम्रो काम गर्ने कोसिस गरिरहेकी छु ।’
रेडियो बाजुराबाट नन्दाले पत्रकारिता सुरु गरेकी थिइन् । राजधानी दैनिक, दृष्टि अनलाइन, सामुदायिक सूचना नेटवर्कमा समेत काम गरिन् । अहिले पत्रकारितामार्फत् उठाएका विषयहरू आफैं सम्बोधन गर्ने स्थानमा पुगेकी छन् ।
स्थानीय तहमा सबैसँग समन्वय गरेर अगाडि बढिरहेकी नन्दाको एकै उद्देश्य छ, महिलाले पुरुषसरह निर्णय लिन सक्दैनन् भन्ने गलत भाष्यलाई परिवर्तन गर्ने । निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य हुनुपर्ने ।
यसमा एक हदसम्म आफू सफल भएको नन्दाको विश्लेषण छ । उनी सबै वडामा पुरुष वडाध्यक्ष भए पनि आफ्नो कार्यकालमा महिला सहभागिता सुनिश्चित हुने गरी काम गरिरहेको बताउँछिन् ।
बाल विवाह अन्त्य, महिला स्वरोजगार, उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न पनि जुटिरहेकी छन् । भन्छिन्, ‘मुख्यगरी बाल विवाह, छाउपडी प्रथा, महिला हिंसा जस्ता विद्यमान समस्या हटाउन प्रतिबद्ध भएर लागिरहेको छु ।’