रास्वपाको निर्देशन- काम गरेर देखाउनुपर्ने बेलामा बधाईका नाममा मन्त्रीलाई भेटेर फोटो खिच्ने काम नगर्नू


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा भेटघाट, भीडभाड नगर्न नगराउन पार्टी सदस्यहरूमा निर्देशन दिएको छ।
सभापति रवि लामिछानेसहित चार जना प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा हिजो नियुक्त भएका थिए।
प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको अभ्यास हुँदै आएको भए पनि काम गरेर देखाउनुपर्ने महत्त्वपूर्ण समय बधाई, शुभकामना तथा भेटघाटका नाममा बर्बाद भइरहेको हुन्छ भन्नेतर्फ सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरूले ध्यान दिनुपर्ने बताएका छन्।
उनले भनेका छन्- पार्टीले लिएको लक्ष्य तथा नेपाली जनताप्रतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न नवनियुक्त मन्त्रीहरूका लागि सदैव शुभकामनासहित हाम्रो साथ सहयोग तथा सल्लाह–सुझाव महत्त्वपूर्ण रहन्छ नै, साथै हाम्रा नेताहरूले मन्त्रालयको जिम्मेवारी पाउनु खुशीसँगै समग्र पार्टीका लागि चुनौतीको अवसर पनि हो । तसर्थ जनसेवा प्रवाहको यस परीक्षामा हामी खरो उत्रनुपर्नेछ ।
बधाईका नाममा मन्त्रीलाई मन्त्रालयमा भेटी फोटो खिच्ने, बधाई तथा शुभकामना दिने प्रचलनले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमूल्य समयको नोक्सानी समेत गरिरहेको हुन्छ जो सिङ्गो देश र जनतामाथि घात भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, भीभीआईपी वा भीआईपी प्रथाको अन्त्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । अतः उल्लिखित पक्षहरूलाई मनन गरी बधाई तथा शुभकामना दिन कै लागि मन्त्रीहरूलाई भेट्ने, यो वा त्यो बहानामा मन्त्रीहरूलाई अनावश्यक रूपमा भेटघाट नगर्न नगराउन सबैमा हार्दिक अपिल गर्दछौं ।