उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने- बधाई दिन मन्त्रालय नआउनु, मनबाट सम्झे हुन्छ – Nepal Press

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने- बधाई दिन मन्त्रालय नआउनु, मनबाट सम्झे हुन्छ

पहिलो निर्णय देशभरका हडपिएका सरकारी जग्गा फिर्ता ल्याउने हो

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर सरकारी जग्गा हडपेर बसेकाहरुबाट सबै जग्गा सरकारको नाममा ल्याउने आफ्नो पहिलो निर्णय जसरी पनि कार्यान्वयन गराउने बताएका छन् ।

बुधबार साँझ पदभार ग्रहण गरेपछि लामिछानेले यसअघि आफू गृहमन्त्री हुँदा गरेको यो निर्णय अहिले पहिलो निर्णय गरेरै कार्यान्वयनमा लैजाने घोषणा गरेका हुन् ।

‘यसरी हडपेका सबै जग्गा खाली गरिनेछ, ७७ जिल्लामा यस्तो समस्या छ, हडपिएका जग्गा राज्यको नाममा ल्याउने मेरो पहिलो निर्णय हो, अघिल्लो कार्यकालमा यो थालेको थिएँ, अहिले पनि यसैलाई पहिलो निर्णय गरेर अगाडि बढेँ’, उनले भने ।

गृहमन्त्रालयले देशैभरको सुरक्षा संयन्त्र जिम्मा लिनुपर्ने भएकाले सबै सुरक्षा निकायलाई विशेष योजना बनाउन आग्रह गर्दै उनले कुनैपनि मान्छेले गलत क्रियाकलाप गरेको भए उसको दिन समाप्त भयो भनेर बुझेहुन्छ भन्दै चेतावनीका रुपमा बुझ्न आग्रह गरे ।

‘गलत गर्ने जोसुकै अब जोगिनेवाला छैन, युनिफर्म लगाएको सुरक्षा निकायको प्रतिनिधि देख्दा गलत काम गर्नेको सातो जाने होस, हामीले सबै काम कानुनलाई आधार मानेर अगाडि बढाउने हो, कानुन कार्यान्वयन गर्ने हो’ उनले भने–‘कानुनी जटिलता छन्, कानुन बनाउनुपर्ने छ, ऐन बन्दै छन्, सदनमा बनिरहेका छन् । त्यसमा म दृढ भएर अगाडि बढ्छु तपाईहरुको साथ चाहियो ।’

अघिल्लो गृहमन्त्रीले गरेका राम्रा कामको अनुशरण गरेर अगाडि बढ्ने बताउँदै गृहमन्त्री लामिछानेले भने- जनतामा धेरै अपेक्षा हामीसँग छ, राम्रा काम जसले सुरुवात गरेपनि अनुशरण गरेर अगाडि जानेकुरामा म प्रतिवद्ध छु । नागरिकमा धेरै हुटहुटी छ, छिटो नतिजा खोजिरहेको अवस्था छ तर यो भन्दैमा विषयको अनुसन्धानमा कमी नहोस्, अनुसन्धान भन्ने विषय हाम्रो लागि महत्वपूर्ण हो, फितलो अनुसन्धानले राम्रो व्यवस्था हुँदैन, त्यसको लागि समन्वय गरौं ।’

मन्त्री हुँदाबित्तिकै बधाई तथा शुभकामना दिन आउनेहरुले महत्वपूर्ण समय खर्च नगर्न आग्रह गर्दै उनले भने–‘मलाई बधाई मनबाटै दिए पुग्छ, आएपनि बाहिर बोर्डमा सन्देश लेखेर छोड्नुहोला, म अनुकुल समय मिलाएर हेर्छु, ग्रहण गर्छु, मसँगै फोटा खिच्दैमा केही हुँदैन, समयको बर्बाद नगर्नुहोला, मन्त्री भएपछि बधाई दिन ओइरो नलाउनुस, सन्जालमा दिएपनि हुन्छ ।’

गृहमन्त्रालयमा सरुवा र बढुकाको फाइल बोकेर कसैले साइनो लाउँदै नआउन उनले आग्रह गरे । ‘फाइल बोकेर कोही नआउनुस्, सबै सिस्टमबाट हुन्छ,मेरो कार्यकालमा त्यो हुने छैन यो सार्वजनिक सूचना हो, मेरा आफन्त, पार्टी, सत्तासाझेदार कसैले साइनो लगाएर यस्तो गलत काम गर्न र गराउन दवाव नदिइयोस्’,  उनले भने, ‘सरुवाबढुवा कोही कसैको दवाव र आग्रहमा हुनेछैन, खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेछ, कसैलाई विभेद हुनेछैन ।’

काम र दक्षताका आधारमा प्रमोशनको व्यवस्था बनाउन शुरुवात हुनेछ’ गृहमन्त्री लामिछानेले भने । उनले देशको अवस्था सबैतिर समस्यामा रहेको र आफ्नो मन्त्रालयले धेरै जिम्मेवारी बोकेकाले सबैको समन्वयमा पार लगाउने प्रयास गर्ने बताए ।

‘म कति दिन कति समय बस्छु थाहा छैन तर जति समय बस्छु काम गरेर बस्छु, मेरो योजनाको स्सिपरिटमा काम गरौ, पक्कै नतिजा निकाल्न सकिन्छ’, लामिछानेले भने ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर