नवनियुक्त तीन मन्त्री ‘बेरोजगार’, डीपीले प्रधानमन्त्रीलाई भेटेर भनेः छिटो जिम्मेवारी चाहियो – Nepal Press

नवनियुक्त तीन मन्त्री ‘बेरोजगार’, डीपीले प्रधानमन्त्रीलाई भेटेर भनेः छिटो जिम्मेवारी चाहियो

तीन विनाविभागीय मन्त्रीको कार्यकक्ष पनि छैन, तीन दिनसम्म भएन पदभार ग्रहण

काठमाडौं । सपथग्रहण गरेको तीन दिनसम्म नवनियुक्त तीन मन्त्रीहरु जिम्मेवारीविहिन छन् । उनीहरुलाई कुनै कार्यकक्ष नदिइएकाले पदभार ग्रहणसमेत हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रीपरिषद खाली गरेर तीनजना नयाँ मन्त्री नियुक्त गरेका थिए । एमालेबाट पदम गिरी, रास्वपाबाट डोलप्रसाद अर्याल र माओवादीबाट हितबहादुर तामाङले मन्त्रीको सपथ खाएका छन् । तर, दलहरुबीच भागबण्डा नमिलिसकेकाले उनीहरुलाई कुनै पोर्टफोलियो तोकिएको छैन भने बस्ने कार्यकक्ष पनि उपलब्ध गराइएको छैन ।

मन्त्री बने पनि कुनै जिम्मेवारी नपाउँदा तीनैजना बेचैन बनिरहेका छन् । सपथग्रहणपछि सिधै पदभार ग्रहण हुनुपर्ने हो । तर, कार्यकक्ष नै नभएपछि तीन दिनसम्म पदभार ग्रहण हुन सकेको छैन । मन्त्रीहरुलाई जिम्मेवारी दिन नसकेका प्रधानमन्त्री एक्लैले सबै २२ वटा मन्त्रालयको भार बोकिरहेका छन् ।

यसअघि विनाविभागीय मन्त्रीहरुलाई मन्त्रालय नतोकुञ्जेल प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष दिने प्रचलन थियो । तर, अहिले त्यो पनि गरिएको छैन । त्यसैले मन्त्रीहरु आ–आफ्नै घरमा बसेर व्यक्ति काम र भेटघाट गरिरहेका छन् । बधाइ थापिरहेका छन् ।

रास्वपाबाट मन्त्री बनेका डीपी अर्यालले हिजो बिहान साढे १० बजे प्रधानमन्त्रीलाई भेटेर झक्झक्याएका थिए । उनले आफूहरुहरुलाई छिटो जिम्मेवारी तोक्न र मन्त्रीपरिषद विस्तारमा ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

‘सम्माननीयज्यू मन्त्री त बनाउनु भो, अब के काम दिने हो काम चाहियो,’ अर्यालले प्रधानमन्त्रीसँग भने, ‘गर्नुपर्ने काम धेरै छन् । जति लिङ्गरिङ गर्यो त्यति जनतामा असन्तुष्टि बढ्छ । छिटो टुंग्याउनुस ।’

प्रधानमन्त्री दाहालले आजै बेलुकासम्म टुंगिने आश्वासन दिएर पठाएका थिए । तर, अझै टुंगिन सकेको छैन । दाहाल अहिले अन्य दलका नेताहरुलाई फकाउनमा नै व्यस्त छन् । भागबण्डा टुंग्याउन आज ११ बजे शीर्ष वैठक बस्ने तयारी छ ।

प्रधानमन्त्रीले पूनर्गठित मन्त्रीपरिषदको वैठकसमेत राखेका छैनन् । उनी नेताहरुसँग भेटघाट र गठवन्धनको वैठकमै व्यस्त छन् ।
मन्त्री अर्यालले आज मन्त्रीपरिषद विस्तार र जिम्मेवारी बाँडफाँड टुंगिने आशा गरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्रधानमन्त्रीले हिजो बेलुका नै टुंगिन्छ भन्नुभएको थियो । तर, टुंगिएन । आज टुंगिएला कि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर