सत्ता गठबन्धन भत्किने बन्ने क्रमको यो अन्त्य होइन, विदेशी शक्तिको अभिप्रेरणामा यो खेल निरन्तर चलिरहन्छ : कमल थापा – Nepal Press

सत्ता गठबन्धन भत्किने बन्ने क्रमको यो अन्त्य होइन, विदेशी शक्तिको अभिप्रेरणामा यो खेल निरन्तर चलिरहन्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै विदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन् ।

आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जाने समेत दाबि गरे। नितान्त निहित स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भैरहनु अनौठो नहुने उनको तर्क थियो ।

मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटि बन्न राजी हुने दलहरुको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन, नीतिविहीन, आदर्श विहीन गठबन्धनले निकास दिन नसक्ने समेत ठोकुवा गरे ।

‘यो गठबन्धनको विकल्पको खोजी शुरु भइसकेको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ’, थापाले भने । साँच्चिकै वैचारिक धुर्बिकरण हुने हो भने तेसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाइ थियो ।

यो सन्दर्भमा ब्यबस्थाको बिकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले बिचार मिल्नेहरुले आन्दोलनमा जानू पर्नेमा जोड दिए । ‘यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलन मार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं’, थापाले भने ।

बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर