नाउपाको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने – Nepal Press

नाउपाको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

कैलाली । नयाँ गठबन्धनबारे आफ्नो धारणा बनाउन र सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्न बसेको नागरिक उन्मुक्ति पार्टीको बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयका बसेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र उपलब्ध पदाधिकारी बैठकले कुनै निर्णय नगरेको नाउपाका एक नेताले जानकारी दिए ।

‘त्यस्तो केही निर्णय भएन । भोलि यस विषयमा छलफल गरेर निर्णय गर्छौं’, ती नेताले भने ।

आज सरकार र गठबन्धनका विषयमा भन्दा बढी पार्टीको आन्तरिक विषयमा छलफल भएको थियो । पार्टीभित्रै बढेको तीव्र गुटबन्दी र मनमुटावका विषयमा आज छलफल भएको र भोलि सरकार र नयाँ गठबन्धनबारे छलफल हुने ती नेताले बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ गठबन्धनबारे सकारात्मक रहेको टिप्पणी दिँदै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गरेका थिए ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । यहाँ माओवादी र एमालेमात्रै मिलेर सरकार बन्दैन ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले आजसम्म आफूहरू सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रहेको र अब रहने वा नरहने भन्ने विषयमा कुनै निर्णय नगरिएको जानकारी दिए । उनले पनि यस विषयमा भोलि निर्णय हुने बताए ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री छन् । आज मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्दा नाउपाका मन्त्रीहरू चलाएनन् । बरु उनले पत्रकार सम्मेलनमार्फत गठबन्धन जोगाउन आफू छलफल गर्न तयार रहेको सन्देश दिए ।

‘राष्ट्रिय राजनीतिका कारण यो प्रभाव परे पनि माओवादी केन्द्रसँग पनि हामी संवादमै छौं । साबिकको गठबन्धनका सबै दल संवादमै छन् । पदमात्र ठूलो कुरा होइन’, शाहले भने, ‘गठबन्धनलाई जोगाएर अन्तिमसम्म लैजानुपर्छ भन्ने चाहना छ ।’

सबै दललाई मिलाएर अघि बढ्न जस्तोसुकै सहमति गर्न कांग्रेस तयार रहेको बताएका उनले मुख्यमन्त्री छाड्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा भनेका थिए, ‘सबै कुरामा खुला छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर