गठबन्धनका सूत्रधार ओली हुन, अन्तिमसम्म टिकाउन उनले व्यवहार सुधार्नुपर्छ : वामदेव गौतम (भिडिओ) – Nepal Press

गठबन्धनका सूत्रधार ओली हुन, अन्तिमसम्म टिकाउन उनले व्यवहार सुधार्नुपर्छ : वामदेव गौतम (भिडिओ)

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद रहेको बताएका छन् । सोमवार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए ।

मंगलवार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए । उनले अहिले अप्रत्याशित रूपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरूसँग अघि बढ्न आवश्यक रहेको बताए । उनले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभई ओली नै रहेको दाबी गरे ।

उनले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर