गृहमा रस्साकस्सीः माओवादीले पनि गर्‍यो दाबी, तर नछाड्ने मुडमा रवि – Nepal Press

गृहमा रस्साकस्सीः माओवादीले पनि गर्‍यो दाबी, तर नछाड्ने मुडमा रवि

काठमाडौं । गृहमन्त्रालय कसलाई दिने भन्नेमा नवगठबन्धनभित्र रस्साकस्सी बढेको छ । रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने प्रारम्भिक समझदारी भए पनि अहिले जटिलता देखिएको हो ।

प्रधानमन्त्री माओवादीले पाएपछि सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयका रूपमा रहेको गृह ठूलो दल एमालेको भाग परेको थियो । तर, रविले विगतमा यही गठबन्धनमा आफूले गृह पाएकाले अहिले पनि पाउनुपर्ने दाबी गरे । प्रधानमन्त्रीले यस विषयमा सहमति गर्ने जिम्मेवारी ओली र लामिछानेलाई नै दिए । अहिले माओवादीले समेत गृह दाबी गर्न थालेको छ ।

स्रोतका अनुसार निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ दोहोरिन इच्छुक छन् । गृह मन्त्रालयमा आफूले थुप्रै काम गरेको भन्दै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि लबिङ गरेका छन् । श्रेष्ठ आफू नभए पनि कुनै हालतमा रविलाई रोक्न चाहन्छन् ।

अर्थ मन्त्रालय माओवादीको भागमा परेको थियो । तर, अहिले माओवादीले अर्थभन्दा गृहमा जोड दिन थालेको स्रोत बताउँछ । एक माओवाद नेताले गृहलाई पार्टीले बटम लाइन नै बनाएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले हाम्रो जोड अर्थभन्दा पनि गृहमा छ । सुशासनको प्रत्याभूति दिने गृहले नै हो । सकेसम्म गृह र अर्थ दुवै प्रधानमन्त्रीले राख्नुपर्छ भन्ने हो । त्यो नभए पनि गृह चाहिँ छोड्दैनौँ ।’

ती नेताको दाबी अनुसार गृहमा वर्षामान पुनको बलियो सम्भावना छ । पुन यसअघि अर्थमन्त्रीका रूपमा चर्चामा थिए । तर, अर्थ एमालेलाई दिएर उनलाई गृहमा पठाउने सम्भावना रहेको ती नेताले बताए । एमालेले अर्थ पाएमा विष्णु पौडेलको सम्भावना बढ्ने छ । पौडेल अर्थमन्त्री बन्ने हल्लाले अस्ति सेयर बजारमा उछाल आएको थियो ।

सञ्चार मन्त्रालय पनि प्रधानमन्त्रीले राख्ने दाबी गर्दै ती नेताले ऊर्जा छोड्न तयार रहेको बताए ।

रास्वपा गृह नछाड्ने मनस्थितिमा

माओवादीले दाबी गरे पनि रास्वपा गृह मन्त्रालय छोड्ने पक्षमा छैन । यदि रास्वपाले अडान लियो भने प्रधानमन्त्रीले अस्वीकार गर्न कठिन हुने छ, किनकि रास्वपाको समर्थनबिना वर्तमान सरकार अल्पमतमा पर्छ ।

रास्वपाका एक शीर्ष नेताले भने, ‘हामीले गृह छोड्ने प्रश्नै आउँदैन । उहाँहरू पहिल्यै सहमत पनि भइसक्नुभएको छ । बीच–बीचमा अनेक कुराहरू आउँछन् । तर, गृहमा सभापतिज्यू नै जानुहुन्छ ।’

रास्वपाले गृहसहित चार वटा र माओवादीले पाँच वटा मन्त्रालयमा दाबी गरिरहेका छन् । जसपाको दाबी ३ मन्त्रालयमा छ । नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई सबैको चित्त बुझाउन सजिलो छैन ।

सरकारमा सहभागी हुने दलहरूको टुंगो लागेपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने भनिएको छ । गठबन्धनमा सामेल चार दलसहित नेकपा एस, नागरिक उन्मुक्ति, जनमत, र लोसपा पनि सरकारमा भित्रिन आतुर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर