नयाँ गठबन्धनले प्रतिगमनकारीलाई बल पुग्यो- मोहनविक्रम
सूर्य थापाको टिप्पणी- चुनाव हारेकी श्रीमतीलाई मनोनीत गर्न नपाएको पीडा


रुपन्देही । यसअघिको गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सोमबार बनेको नयाँ गठबन्धनबाट प्रतिगमनलाई बल पुग्ने निचोडका साथ तत्कालका लागि सहयोग नगर्ने जनाएको छ ।
संघ र लुम्बिनीमा १-१ सांसद रहेको जनमोर्चाको माउ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनविरुद्ध बनेको यसअघिको गठबन्धन भत्कनु दुःखद भएको जनाएका छन् ।
‘अहिले हामी वर्तमान सरकारको नीति र कार्यक्रम हेरेर मात्रै अगाडि बढ्नेछौँ, त्यसैका आधारमा पार्टीले आफ्नो नीति निर्धारण गर्नेछ, बहुदलीय व्यवस्था, गणतन्त्र र धर्म निरपेक्षतामा हाम्रो अडान कायम छ’ सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अहिले यी उपलब्धिमाथि खतरा बढेको छ, यसको दृढतापूर्वक रक्षाका लागि सबैलाई अनुरोध गर्दछौँ’ सिंहले भनेका छन् ।
मोहनविक्रमको यो धारणाप्रति प्युठानबाट संघीय सांसद बनेका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले चुनाव हारेकी श्रीमतीलाई राष्ट्रिय सभामा लैजान नपाएर विरोध गरेको जनाएका छन् ।
सिंहकी श्रीमती जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा यसअघिको गठबन्धनबाट साझा उम्मेदवार बने पनि थापासँग फराकिलो मतले पराजित भएकी थिइन् । तर राष्ट्रिय सभामा मनोनीत कोटामा पौडेललाई राख्ने गरी यसअघिको गठबन्धनले सहमति गरेपछि उनको आलोचना बढेको हो ।
एमाले नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव हारेकी श्रीमती राष्ट्रिय सभा सदस्य नहुने निश्चित भएपछि त फेरि प्रतिगमनलाई बल पुग्ने नै भयो ? मगन्ते हुनुको दुःख छ राजनीतिमा ९उडायो सबै सपना हुरीले…।’