विदेशमै छँदा मन्त्री गुमाएका शरदसिंहले फर्केपछि भने- यो गठबन्धनको पनि भर छैन – Nepal Press

विदेशमै छँदा मन्त्री गुमाएका शरदसिंहले फर्केपछि भने- यो गठबन्धनको पनि भर छैन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी पद चैट हुँदा विदेशमा थिए । मन्त्रीको हैसियतमा दुबईमा आयोजित रोजगार सम्मेलनमा भाग लिन पुगेका उनी भूपू मन्त्रीका रूपमा फर्किए ।

त्यसो त भण्डारीका लागि मन्त्री बन्नु र अचानक पदमुक्त हुनु कुनै नौलो परिघटना होइन । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै पटक मन्त्री बनेका कीर्तिमानी हुन् उनी । त्यसैले यस पटकको बहिर्गमनलाई पनि उनले आश्चर्यको रूपमा लिएका छैनन् ।

उनले नेपाल प्रेससँग भने, ‘म साँझ साढे सात बजे नेपाल आइपुगे । म आइपुग्दा मेरो मन्त्री पद गइसकेको रहेछ । मेरो मात्रै होइन प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको पद गयो । हाहाहा ।’

राजनीतिमा यस्तो स्वभाविक र सामान्य कुरा भएको भण्डारी बताउँछन् ।

उनले थपे, ‘यो सामान्य र स्वभाविक कुरा हो । नेपालका लागि यो कुनै नौलो घटना होइन । राजाको पालादेखि नै मन्त्री भइसकेको मेरा लागि त झन् अनौठो हुने कुरै भएन नि । सधैँ मन्त्री पद खुस्किँदा मन्त्रालयमा वा नेपालमै भइन्छ भन्ने पनि छैन । कहिले विदेशमा त कहिले बाहिर जहाँ हुँदा पनि खुस्किन सक्छ ।’

अहिले बनेको नयाँ गठबन्धन पनि दिगो नहुने उनको आँकलन छ ।

‘अहिलेकै प्रधानमन्त्री प्रचण्डले यसअघि देउवाले नमानेपछि बालुवाटारबाट सिधै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएकै हो नि । यो नयाँ गठबन्धन पनि सधैँभरी टिकिरहन्छ भन्ने छैन । भोलि नै उथलपुथल हुनसक्छ । विना लक्ष्य तथा एजेन्डाबिना बनेको गठबन्धनको भर हुँदैन । अहिलेसम्म किन गठबन्धन टुट्यो भन्ने स्पष्ट कुरा आएको छैन । न कुनै साझा लक्ष्य–योजना बनाइएको छ । न त कुनै अरू विषय नै छन् ।’

तर, आफ्नो कार्यकाल भने फलदायी भएको भण्डारीको दाबी छ । भोलि मन्त्रालयमा बिदाइ कार्यक्रम गरेर आफू बाहिरिने उनले बताए ।

उनले भने, ‘मेरो कार्यकाल राम्रो भएको महसुस गरेको छु । धेरै सुधारको प्रयास गरिएको छ । भोलि मन्त्रालयमा गएर बिदा भएर जान्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर