प्रधानमन्त्री ज्यूको कुर्सी हल्लिएको थिएन तर, जोखिम मोलेर डेलिभरीका लागि पहल गर्नुभयो : रास्वपा – Nepal Press

प्रधानमन्त्री ज्यूको कुर्सी हल्लिएको थिएन तर, जोखिम मोलेर डेलिभरीका लागि पहल गर्नुभयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले डेलिभरी गर्न सकेको दिनसम्म मात्रै सरकारमा रहने बताएका छन् ।

चार राजनीतिक दलले सरकार सञ्चालनका लागि गरेको ८ बुँदे लिखित सहमति सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उपसभापति वाग्लेले जनतालाई डेलिभरी गर्न सकिएन भने आफै बहिर्गमनको पथ अवलम्बन गर्ने बताएका हुन् ।

‘डेलिभरी गर्न सकेको दिनसम्म हामी सरकारमा रहन्छौं सकिएन भने सम्मानजनक बहिर्गमनको पथ आफैले नै अवलम्बन गर्छौँ,’ उनले भने ।

शंकाको लाभसहित सरकारको प्रस्तावलाई सकारात्मक ढंगले ग्रहण उपसभापति वाग्लेले सुनाए । उनले भने, ‘यो पछिल्लो चरणमा प्रधानमन्त्रीज्यूबाट नयाँ ढंगबाट जाऊ भन्ने आह्वान मुलुकको सबैभन्दा ठुलो दलसँगको उहाँको साझेदारी टुट्न गयो । उहाँले हामी चौथो ठूलो दलबाट यति धेरै अपेक्षा गर्नुभएको छ की उहाँले साझेदारीको हात फैलाउनुभयो । त्यसलाई शंकाको लाभसहित सकारात्मक ढंगले ग्रहण मात्र गरेका हौँ । तर, प्रवेश शसर्त छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर डेलिभरीका लागि पहल गरेको उपसभापति वाग्लेले बताए ।

‘उहाँको कुर्सी हल्लिएको थिएन । ९/१० महिना नै आरामले बस्न सक्नुहुन्थ्यो । तर, यो जोखिम मोलेर एउटा निर्णायक सम्बोधनतिर म जानुपर्छ । डेलिभरी फरक ढंगले गर्नुपर्छ भनेर जुन पहल गर्नुभयो । हामी पनि उदयमान राष्ट्रिय दलको हिसाबले यसमा सहभागी हुनुपर्छ । तर, निश्चित एजेन्डा बोकेर सरकारमा सहभागी हुन्छौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर