नयाँ गठबन्धनप्रति सकारात्मक दलहरूलाई समेटेर सरकारलाई पूर्णता दिइने


काठमाडौं । नयाँ सत्ता गठबन्धनले अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चार दलबीच सहकार्य भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले बताए।
उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको लागि प्रधानमन्त्रीको संकल्प र सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अन्य दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन् ।’
नयाँ गठबन्धनमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । समीकरण फेरिएपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा आएको छ ।
एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्तिलगायत साना दललाई पनि समेट्ने प्रयास भइरहेको छ ।