गठबन्धन फेरबदलको परराष्ट्र कम्प : पहिले विमला राई रोकिइन्, अहिले एनपी साउद – Nepal Press

गठबन्धन फेरबदलको परराष्ट्र कम्प : पहिले विमला राई रोकिइन्, अहिले एनपी साउद

काठमाडौँ । एमाले र माओवादी लगायतका संसद्का बहुमत सांसदहरूले गठजोड गरेर गत वर्ष पुस १० मा गठबन्धन बन्यो ।

कांग्रेस गठबन्धनबाट प्रधानमन्त्रीको पदको ग्रिन सिग्नल नपाएका प्रचण्डले ओलीबाट सिग्नल पाएर प्रधानमन्त्री बने । तर, त्यो गठबन्धन केहि महिना मात्रै टिक्यो ।

गठबन्धनको जग प्रचण्ड सरकारलाई कांग्रेसको समर्थनदेखि कांग्रेसी राष्ट्रपति उमेदवारीमा माओवादीको समर्थनमा पुग्दा भत्कियो । त्यसरी भत्किँदाका पराकम्पहरू एमाले सरकारमा छँदै देखिएको थियो । खासगर परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डले रद्द गरिदिएका थिए ।

२०७९ फागुन १३ गते राती छ बजेको उडान समेत राईको तय भएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई रोकेर अरू अनुहार जेनेभा पठाए ।

पठाइएका अनुहारहरूमा नेकपा (एस)का कानुनमन्त्री गोविन्द बन्दी, परराष्ट्र प्रवक्ता सेवा लम्साल र प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा लगायत थिए । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ बैठकमा उनीहरू गएका थिए ।

२०७९ माघ २ गते परराष्ट्र मन्त्रीको शपथ लिएकी राईलाई ४० दिन पछि नै यस्तो अनुभव हुन पुगेको थियो । यसबारेमा उनले राष्ट्रिय सभामा गुनासो पोखेकी थिएन ।

उनले भनेकी थिइन, ‘हामीले विभिन्न चरणका तयारीहरू गरिरहेका थियौँ । तर, अन्तिम समयमा गएर प्रधानमन्त्रीज्यूले चैँ नजानु भनेर एडभाइज गर्नु भएकोले म आफूले नेतृत्व गरेर जान सकिन । त्यो भएर मेरो भ्रमण म आफू चैँ फिर्ता भएँ । अरू चैँ जानु भएको छ ।’

एनपी साउदमा पनि दोहोरियो विमला राई पौड्याल प्रकरण: परराष्ट्रको सूचना डिलिट

विमानस्थलमा पुगेर काटेको टिकटमा उड्न मात्रै बाँकी रहेकी विमला राईले एक वर्ष अगाडि फागुनमै खुट्टा उचालिएर रोकिए जस्तै भए उनीपछि आएका परराष्ट्रमन्त्री एनपी साउद पनि ।

उनको फिनल्याण्डमा तय भएको भ्रमण रोकिएको हो । परराष्ट्र मन्त्रालयले २१ घण्टा अगाडि साउद फिनल्याण्डको राजधानी हेल्सेन्स्कीतर्फ जाने सूचना प्रकाशन गरेको थियो । तर, अहिले नयाँ राजनीतिक घटनाक्रम सार्वजनिक भएसँगै परराष्ट्रले उक्त सूचना डिलिट गरेको छ ।

फिनल्याण्डमा आयोजना भएको संयुक्त राष्ट्रसंघको अतिकम विकसित देशहरूको फ्यूचर फोरमको दोस्रो समारोहमा जान लागेका साउद रोकिएका हुन् । मार्च ५ र ६ मा आयोजना हुने कार्यक्रमको लागी साउद जान खुट्टा उचालेर बसेका थिए ।

साउदको मार्च ५ को उद्घाटन सत्रमा सम्बोधन तय समेत भएको थियो । साउदको फिनल्याण्ड भ्रमण रद्द भएकोमा नेपाली मिडियामा मात्रै होइन भारतीय मिडियामा पनि चर्चा भएको छ ।

भारतको समाचार एजेन्सी एसियन न्यूज इन्टरनेसनलले यसलाई प्राथामिकताका साथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर