कांग्रेसले प्रधानमन्त्रीलाई सहयोग गरेन, कोर्स करेक्सनका लागि नयाँ ध्रुवीकरण : देवेन्द्र पौडेल (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम गर्न कांग्रेको साथ नभएकाले नयाँ सत्ता समीकरण अघि बढाइएको बताएका छन् ।
बालुवाटारमा एमाले-माओवादी-रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले जनतालाई डेलिभरीको गति दिने गरी प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न खोजेपनि कांग्रेसले साथ नदिएको सुनाए ।
पौडेलले भने, ‘जनताको डेलिभरीलाई गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई कांग्रेसको साथ भएन । कतिपय मन्त्रलयको सपोर्ट भएन । डेलिभरि नभएपछि नैतिकरूपमा सरकारको नेतृत्व गर्नुमा कुनै औचित्य भएन ।’
पुराना कमजोरीको गम्भीर समीक्षा गर्दै गल्ती नदोहोर्याउने प्रणसहित माओवादी र एमाले नेताहरू सहमत भएको बताए । नेपालको राजनीति कोर्स करेक्सन गर्ने गरी यो स्टेप चालिएको पौडेलको भनाइ छ ।
‘एमाले र माओवादी नेताहरूबीच विगतका कमजोरीको गम्भीर समीक्षा भएर नयाँ ढंगले जाने कुरा भएको भएको छ । नेपालको सिंगो पोलिटिक्स कोर्स करेक्सन गरेर नयाँ ध्रुवीकरणमा जाने भनेर यो स्टेप चालिएको हो । वामपन्थी एकताको जनताको अपेक्षा पनि छ’, पौडेलले भने ।
उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायत भागबन्डालाई लिएर नयाँ शिराबाट अघि बढ्ने बताए ।
‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अघि बढाउँछौं । राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको विषयमा पनि सहमति खोज्छौं’, उनले भने ।