संसदमा अनुभवीलाई निरन्तरता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना – Nepal Press

संसदमा अनुभवीलाई निरन्तरता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तमिल्सिनाले संसदमा नयाँ सांसदहरुले मात्रै परिष्कृत कानून बनाउन नसक्ने बताएका छन् ।

आइतबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा अनुभवीहरुले नै परिष्कृत कानून बनाउनसक्ने बताए ।

उनले नयाँले सिक्ने र अनुभवीहरुले परिष्कृत रुपमा देश र जनतालाई मध्यनजर गरी कानून बनाउन जरुरी रहेको बताए । उनले कतै राम्रो काम नगरेका कारण त अनुभवीहरुमाथि प्रश्न उठेको छैन ? भन्ने प्रश्न गरे । उनले परिणाम दिने अनुभवी व्यक्तिलाई निरन्तरता दिनुपर्ने बताए ।

‘संसदमा भनेको अनुभवीहरुले नै परिष्कृत बनाउने हो । नयाँ पनि आउने तर अनुभवहरुलाई निरन्तरता दिने हो । विश्वमा पनि त्यही छ । हाम्रो अलि केही पटक भएपछि प्रश्न उठ्छ’, उनले भने, ‘किनभने हामीले राम्रो कतै गरेनौँ की, गरेकोलाई संप्रेषण गरेनौँ की ? परिणाम दिनेगरी अनुभवलाई निरन्तरता दिनुपर्ने हुन्छ । सबै नयाँ भयौँ भने पनि सभाले खोजे जत्तिको दिन सक्दैनौँ । अनुभवलाई पनि लिँदै र नयाँले पनि सिक्दै जाने हो ।’

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणमा अझै लाग्नुपर्ने आवश्यकता रहेको बताए । व्यक्ति र संस्थाकेन्द्रित भएको विधि निर्माण गर्दा समस्या आएको बताए । उनले सिंगो देश र जनतालाई फाइदा पुग्नेगरी कानून निर्माण गर्न आवश्यक रहेको बताए ।

आज –आईतवारबाट एमालेबाट चुनाव जितेर राष्ट्रिय सभा अध्यक्ष बन्नुभएका गणेशप्रसाद तिमिल्सिनासहित पार्टीका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको छ । काँग्रेसबाट रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।

कार्यकाल सकिनेमा माओवादीबाट बिना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा छन् । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ ।

राष्ट्रपतिबाट मनोनित डा.विमला राई पौड्यालको पदावधि पनि आजबाट सकिँदैछ । आज अन्तिम दिनमा सबै पदावधि सकिने सदस्यहरुलाई विधायन व्यवस्थापन समितिको बैठकमा बिदाई गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर