लुम्बिनीमा सदन छल्दै मुख्यमन्त्री चौधरी, जवाफ खोज्दै सांसदहरु
सदनमा पस्दै नपसी गए भलिबल र युवा सम्मेलन उद्घाटनमा

रुपन्देही । सभामुख, विपक्षी दल, सत्तारुढ दलकै सांसदहरुले मुख्यमन्त्री डिल्ली चौधरीले प्रदेश सरकारले आयोजना गर्न लागेको शिखर सम्मेलनको विवादका विषयमा सदनमा जवाफ दिनुपर्ने विषय उठाएपनि मुख्यमन्त्री चौधरी सदनमै बसेनन् ।
१८ गतेदेखि शुरु भएको सदनमा न त मुख्यमन्त्री बोले न त दलका नेताहरुबाट अधिवेशन शुभकामना नै आयो । पहिलो दिन ५ मिनेट नबस्दै सकियो भने दोस्रो दिन प्रधानमन्त्रीको सम्बोधन मात्रै भयो ।
तेस्रो दिन तीन सांसदहरु बोलेर चैत ४ गतेसम्मका लागि सारिएको छ प्रदेश सभाको बैठक । आइतबारको बैठकमा मुख्यमन्त्री बोलेर विपक्षी दलका नेतासहित अन्य दलका नेताहरु बोल्ने कार्यसूची फेरिएपछि सांसदहरु आश्चर्यमा परेका थिए । सरकारको तर्फबाट गृहमन्त्रीलाई जवाफ दिन पठाएर मुख्यमन्त्री चौधरी कोहलपुर र घोराहीको कार्यक्रममा जाने भन्दै हिँडे ।
घोराहीमा भलिबल प्रतियोगिता र कोहलपुरमा युवासम्मेलन उद्घाटन गर्न उनी पुगेको उनको सचिवालयले जनाएको छ । १ बजेको सदन चल्ने समय रहँदा १२ बजेसम्म मुख्यमन्त्री चौधरी प्रदेश सभाको ५ सय मिटर नजिकै रहेको निवासमै थिए ।
मुख्यमन्त्री चौधरीलाई विपक्षी दल एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले भेटेर छलफल गरेपनि कुनै सकारात्मक संकेत नपाएपछि सदनमा नआएको एमाले नेताहरुको बुझाई छ ।
एमाले संसदीय दलका नेता लिला गिरी भन्छन्, ‘हामी संवादबाट भाग्दैनौ, विषयवस्तुबारे सदनमा जानकाुरी दिनुपर्छ भनेर मैले कुरो राखेँ, आइतबार म पनि बोल्ने कार्यक्रम थियो, तर मुख्यमन्त्री नभएपछि म पनि बोलिन, उताबाट गृहमन्त्रीले जवाफ दिने कुरा भएपछि हाम्रोबाट रामजी घिमिरे बोल्नुभएको हो ।’
‘मुख्यमन्त्रीले सदनमा भागेर के गर्न खोज्नुभएको हो थाहा छैन, यस्तो गम्भीर विषयमा भागेर हुँदैन, हामीसँग भएका सहमति कुनै कार्यान्वयनमा छैनन्, सदन छाडेर आराम गरेर समाधान हुँदैन’ उनले भने ।
सदनअघिको बैठकमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूणर्ताका विषयमा छलफल भएको मुख्यमन्त्र सचिवालयले जनाएपनि एमाले नेता गिरीले त्यो विषयमा प्रवेश नै नभएको जनाएका छन् । ‘सदनजस्तो महत्वपूर्ण कार्यक्रम छोडेर सरकार प्रमुख सामान्य कार्यक्रममा जानू भागेकै हो’
एमाले सांसदको प्रश्न- लुम्बिनीलाई प्रयोगशाला बनाउन पाइँदैन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनीजस्तो पवित्र ठाउँमा गैरसरकारी संस्थालाई बुद्ध जन्मस्थल लुम्बिनीमा शिखर सम्मेलन आयोजना गर्न दिएको गम्भीर प्रश्न उठाएको छ ।
प्रदेशसभा हिउँदे अधिवेशनको तेस्रो बैठकमा आइतबार पार्टीको तर्फबाट बोल्दै एमाले केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय आइएनजीओको नाममा शिखर सम्मेलन गर्न खोजिएको र विवादित व्यक्ति जोडिएको संस्थालाई ल्याएर लुम्बिनीलाई विवादमा पार्न खोजिएको भन्दै आपत्ति जनाए ।
‘लुम्बिनी देशकै गहना हो, विवादास्पद आइएनजीओको नाममा सरकारी बजेट छुट्टयाउने र कार्यक्रम राख्ने कुरा गम्भीर छ, यसमा बजेट बनाउने बेला विपक्षी दल तथा गठबन्धनका अन्य दलले समेत कुरा राख्न पाएनन्, यसरी लुम्बिनीलाई मुख्यमन्त्रीको स्वार्थमा विवादमा पार्न खोजियो’, उनले भने । सांसद घिमिरेले मुख्यमन्त्री कतै लेण्डुप दोर्जे त बन्न खोजेको होइन भन्दै प्रतिप्रश्न गरे ।
उनले सबैतिरबाट टिप्पणी उठेको र गम्भीर प्रश्नहरु खडा भएको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने समयमा सदनमै नबसेर भागिरहेको बताए ।
उनले भने, ‘सुरुमा यसलाई पर्यटन प्रवद्र्धन भनियो, अहिले बालबालिका र शान्तिको नाम जोडिएको छ, सुरुमा मार्च १० देखि १२ भनियो, तर अहिले मार्च ११ र १२ भनिएको छ, दलाई लामासमेत संलग्न भएको लौरियट्स एण्ड लिडर्सलाई यहाँ सहभागी गराउन खोजिएको छ, यसले मित्र राष्ट्र चीनसँग किन विवाद बनाउन खोजियो, यसले चीनसँगको सम्बन्धलाई समेत खल्बल्याउन खोजिएको छ ।’
घिमिरेले सदनलाई जानकारी नदिई विदेश भ्रमण गरेको र बुद्धको जन्मभूमिमा यो सम्मेलन गर्न लागिएको भन्दै यसबारे सदनले जवाफ खोजेको र यसले मुलुकको असंलग्न परराष्ट्र नीतिमै चुनौती आएको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रदेश सभाबाट भागेको बताउँदै यसबाट कुनै पनि विषय समाधान नहुने जनाएको छ ।
सांसद घिमिरेले सदन छल्न मुख्यमन्त्री र सरकारले अनेकौ बहाना बनाएको गम्भीर आरोप लगाउँदै यसले संसदको खिल्ली उडाएको बताए ।
सांसद घिमिरेले भने, ‘सरकार सदनसँग डराएर र तर्सिएर कति दिन चल्छ ? सरकारमा बस्नेहरुले सदनमा उठेका आवाज सुन्न सक्नुपर्छ, तर मुख्यमन्त्रीमा यो समस्या देखियो, कति दिन भाग्ने हो अब हामीलाई यसरी अलमलमा पारेर उम्कने छुट छैन ।’
मुख्यमन्त्रीले प्रत्येक दिन ढाँट, छल र बेइमानी गरिरहेको उनले बताए । ‘सदन र प्रतिपक्षीलाई ढाँट्नु भनेको जनतालाई ढाँट्नु हो, मुख्यमन्त्रीले प्रत्येक दिन ढाँट र छल गरिरहेका छन्’,
घिमिरेले प्रतिपक्षीको शालिनतालाई कमजोरी नठान्न पनि सरकारलाई चेतावनी दिए । संसदले पारित गरेका योजना मुख्यमन्त्रीले रोकेको भन्दै घिमिरेले यसतर्फ गम्भीर ध्यानाकर्षण गराए ।
‘सदनले पास गरेको बिनियोजन विधेयकको आयोजना मुख्यमन्त्रीले रोक्न मिल्दैन, सदनले पारित गरेको बजेट मुख्यमन्त्रीले मनपरि खर्च गरिरहेको अवस्था छ, मुख्यमन्त्री चौधरीलाई निकम्मा र असक्षमबाहेक केही भन्न सकिदैन’, उनले भने ।
घिमिरेले प्रदेशसभालाई सरकारले बिजनेशबिहीन बनाएको पनि बताए । ‘संसदलाई सरकारले कुनै पनि बिजनेश नदिएर बिजनेशविहीन बनाएको छ’, उनले भने । यो सदनले सरकारका ८ महिनाको काम कारवाहीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने पनि घिमिरेले बताए ।
मिनि पार्लियामेन्ट मानिने संसदीय समितिको नेतृत्व चयन नभएकोमा पनि उनले आक्रोश व्यक्त गरे । मुख्यमन्त्रीले आफ्नै प्रतिवद्धता अनुरुप संसदीय समितिका सभापति चयन गर्न नसकेको र एमालेसँग भएका सम्झौता कार्यान्वयन र आफ्नै आश्वासन समेत पूरा गर्न नसकेको घिमिरेले बताए । अयोग्य र असक्षम मुख्यमन्त्रीलाई बोकिरहनुपर्ने के बाध्यता आइलाग्यो भन्दै उनले गठबन्धनका अन्य दलहरुलाई समेत प्रश्न गरे ।
आइतबारको बैठकमा तीन सांसदले बोले भने गृहमन्त्रीले मुख्यमन्त्रीको तर्फबाट बोलेका थिए । अबको बैठक चैत ४ गते बस्ने भएकाले पनि शिखर सम्मेलनका विषयमा संसदमा मुख्यमन्त्रीले जवाफ दिनु नपर्ने भएको छ ।
गृहमन्त्री पाण्डेयले भने- सदनबाट स्वीकृत कार्यक्रम हो
प्रदेश सरकारको तर्फबाट गृहमन्त्री सन्तोष पाण्डेयले ‘लौरियट्स एण्ड लिडर्स’ चौथो शिखर सम्मेलनबारे संसदलाई जानकारी गराए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिको रुपमा पाण्डेले शिखर सम्मेलन संघीय सरकारको निर्णयको आधारमा प्रदेश सरकारले आयोजना गर्न थालेको जानकारी दिएका छन् । ११ जना नोबेल पुरस्कार विजेताहरु आउने पक्कापक्की भएको र सम्मेलनको बारेमा बाहिर प्रचार गरिएका बिषयहरु भ्रमपूर्ण रहेको दावी गरे ।
‘१० मार्चको कुरा आयो कहीँ न कहीँ । कुरा गर्दा खेरी दलाई लामाको कुरा आए । उनले विद्रोह गरेको दिन १० मार्च किन प¥यो भन्ने कुरा तर त्यो मिति हामीलाई थाहा हुने कुरा भएन, कार्यक्रम मार्च ११ र १२ अर्थात फागुन २८ र २९ गते हुने हो’ पाण्डेयले भने । बुद्ध जन्मस्थल लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले शिखर सम्मेलन गर्न थालेको उनले दोहोराए ।
‘सरकारले नीति तथा कार्यक्रमको माध्यमले सदनमा आइसकेको हो । कुनै व्यक्ति तथा दलले ल्याएको कुरा होइन । सरकारले ल्याएको विषय हो’, उनले भने, ‘अन्तर्राष्ट्रिय कुटनीतिकको नेतृत्व सिंगो देशले गर्दैछ । शीर्ष नेताहरुले गर्दै हुनुहुन्छ ।’
नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले नेपालमा आएको बेलामा शिखर सम्मेलनको बारेमा शीर्ष नेतृत्वसँग भेट गरेर कार्यक्रमको बारेमा समेत जानकारी गराएको गृहमन्त्री पाण्डेले बताए ।