कर्णालीमा महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने पहिलो महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन् ।
सोमबार सुर्खेतको सिटी हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन भण्डारीले गर्नेछिन् ।
सम्मेलनमा अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
उनले भनिन्, ‘फागुन २५ गते शुक्रबार हुने ११४ औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको हो । हामीले प्रदेश सरकार, प्रदेशसभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरेका छौं ।’
सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरुको सहभागिता हुनेछ ।