मन्त्री नहुँदै बेलबहादुरलाई बधाईको ओइरो ! – Nepal Press

मन्त्री नहुँदै बेलबहादुरलाई बधाईको ओइरो !

कैलाली। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेल बहादुर रानालाई सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भएको भन्दै बधाई दिनेहरूको ओइरो लागेको छ ।

उनका आफन्त र शुभचिन्तकहरूलाई प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री भएको भन्दै बधाई दिन भ्याई नभ्याई छ । तर बेलबहादुर राना न अहिले मन्त्री नियुक्त भइसकेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् स्रोतका अनुसार उनलाई भौतिक राज्यमन्त्री नियुक्त गर्ने कुनै तयारी गरिएको छैन ।

मुख्यमन्त्री कमल बहादुर शाहले पनि यसबारे कुनै जानकारी नै नआएको बताउँछन् । ‘मैले पनि सामाजिक सञ्जालमा देखे तर त्यसको कुनै तयारी छैन’ मुख्यमन्त्री शाहले भने । उनले अहिले प्रदेश सरकार विस्तारको कुनै तयारी नरहेको प्रस्ट पारे ।

सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक मन्त्री काङ्ग्रेसकै प्रकाश देउवा छन् । उनी निकट स्रोतले पनि तत्काल राज्यमन्त्रीमा कसैलाई नियुक्त गर्ने कुनै तयारी नभएको बताए ।

अहिले सुदूरपश्चिममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीकै मन्त्री र राज्य मन्त्री छन् । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पनि नागरिक उन्मुक्तिकै मन्त्री र राज्यमन्त्री छन् ।

यी दुवै मन्त्रालयमा आफै पार्टीमा मन्त्री र राज्यमन्त्री हुँदा पनि समन्वयन नभएको भन्दै एकले अर्काको आलोचना गरिरहेको पाइन्छ भौतिक मन्त्री निकट स्रोतले यस्तो अवस्था आउन सक्ने हुँदा भौतिक मन्त्रालयमा राज्यमन्त्री नराख्ने उच्च दबाब रहेको बताएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको सरकार छ ।

रानालाई यसबारेमा प्रतिक्रियाका लागि फोन गर्दा उनको फोन स्वीचअफ छ ।

यता राज्यमन्त्रीमा कांग्रेसका बेलबहादुरलाई राज्यमन्त्री बनाउने चर्चा चलिरहेका बेला गठबन्धनमा सहभागी तीन वटै दलका नेताहरूले आजभोलिमा बैठक बसेर प्रदेश सरकारको कार्यशैलीका बारेमा आफूहरूको संयुक्त धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

गठबन्धनका अरू दलहरू नै काँग्रेस प्रति असन्तुष्ट भइरहेका बेला काँग्रेसकै रानालाई राज्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना न्यून छ ।

स्रोतका अनुसार बेलबहादुर रानाले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दा सुदूरपश्चिम प्रदेशको राज्यमन्त्री बनाउने आश्वासन दिएका थिए । त्यस लगत्तै उनलाई बधाई को ओइरो सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर