संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित : मन्त्री शर्मा – Nepal Press

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित : मन्त्री शर्मा

रुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् ।

आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताइन् ।

उनले संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने जनाइन् ।

अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रूपान्तरणका काम गर्नै पर्ने उनको भनाइ थियो ।

लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त भएको जनताको संविधानलाई बचाई राख्न आवश्यक रहेको बताउँदै मन्त्री शर्माले अहिले प्राप्त उपलब्धिमाथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना रहेको आशंका व्यक्त गरिन् ।

मन्त्री शर्माले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज), निराजन चौधरी (सङ्केत), शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरी, लक्ष्मण उपाध्याय (राजन), वसन्त सुवेदी (कुमार) को सालिक माल्यार्पण गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर