सँगै रक्सी खाएर साथीकी श्रीमतीलाई ‘प्राङ्क कल,’ आफ्नै श्रीमतीलाई दुर्व्यवहार पछि ढुंगाले हानेर हत्या


काठमाडौं । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल ढकालको हत्या आरोपी सार्वजनिक गरेको छ ।
तेह्रथुम छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित कोठाबाट तेल किन्न निस्किएका ढकालको हत्या भएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ढकालको हत्यामा संलग्न भएको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ का सन्तोष सुवाल काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक हुन् ।
ढकालकी श्रीमती रेनुले आफनो श्रीमान हराएको भन्दै जगाती प्रहरी वृत्तमा गत १० गते उजुरी दिएकी थिइन् । श्रीमान चाहिए २ लाख लिएर सूर्यविनायक जंगलमा आउनु भनेर फोन आएको उनले प्रहरीलाई बताएकी थिइन् ।
ढकालको खोजतलास गर्ने क्रममा गत फागुन ११ मा सिपाडोलस्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानको क्रममा सुवालले हत्या गरेको पाइएपछि पक्राउ गरिएको हो । उनी घटनापश्चात फरार भएका थिए । उनलाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर–६ बाट पक्राउ गरेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ढकालको मोवाइल र ज्याकेट बरामद भएको छ । सुवाल यसअघि पनि चोरी घटनामा पक्राउ ४ महिना कारागार बसेका थिए । साथै अभद्र मुद्दामा पनि पक्राउ परेका थिए ।
ढकाल र सुवालको घटना हुनुभन्दा केही दिनअघि मात्र भट्टीमा भेट भएको थियो । त्यस दिन पनि सँगै रक्सी खाएर उनीहरु बस्नेतको गोठमा गएका थिए । रक्सीको तालमा सुवालले ढकालकी पत्नीलाई ढकालकै मोबाइलबाट ‘प्राङ्क कल’ गरेर पैसा मागेको प्रहरीले जनाएको छ ।
त्यसपछि ढकालले सुवालको श्रीमतीलाई दुर्व्यवहार गर्न खोजेपछि सुवालले ढुंगाले हानेर हत्या गरेको अनुसन्धानमा खटिएको अधिकृतले बताएका छन् ।