लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्रलाई दिन कोषको ध्यानाकर्षण


रूपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले आइतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेको छ ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्वजन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरे ।
उपाध्यक्ष डा। लामाले यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै पहलका लागि ध्यानआकर्षण गराए ।
कोषको ध्यानआकर्षणपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए । लुम्बिनी गुरूयोजनाको ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
उनले कोषको कामका सन्दर्भमा थप सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । छलफलमा उपाध्यक्ष डा लामाले गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए । कोषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकतम दिन आग्रह गरे ।
छलफलमा कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्ने बताए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी भएकाले यसलाई स्थायी बेसक्याम्प बनाउन अनुरोध गरे।