देउवा तयार भएपछि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा प्रचण्ड, सेटै फेरिएला ? – Nepal Press

देउवा तयार भएपछि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा प्रचण्ड, सेटै फेरिएला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएपछि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका हुन् ।

प्रधानमन्त्रीकै पहलमा कुरा अगाडि बढाएपछि शीर्ष तहमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति बनिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा अगाडि बढाउनुभएको छ । अब हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सहयोग गर्ने कुरा भएको छ । अब कहिले गर्नुहुन्छ ? त्यो उहाँकै अधिकारको कुरा हो । तर, गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति छ । दलका शीर्ष नेताहरुसँग कुरा गरेर गर्नुहुन्छ ।’

नेता विश्वकर्माले हिजो पार्टी सभापति देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको सुनाए ।

उनले थपे, ‘हिजो मन्त्री बनाउँदा जोसुकैलाई बनाए पनि निकाल्दा असहज हुन्छ । कसरी निकाल्ने, कसरी अरु थप्ने भन्ने कुरा भन्नेबित्तिकै हुँदैन । त्यसका लागि शीर्ष नेताहरु होमवर्क गर्दै हुनुहुन्छ । तर यो सजिलै हुने देखिएको छैन ।’

माओवादी केन्द्रका सचिव गणेश साहले प्रधानमन्त्रीले तयारी गरे पनि राष्ट्रियसभाको अध्यक्षको निर्वाचनअघि सम्भव नभएको दाबी गरे ।

उनले भने, ‘उहाँले पहिलेदेखि नै प्रयास गर्नुभएको हो । अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आइसक्यो । त्यसैलै त्यसभन्दा अघि हुन्छ जस्तो मलाई लाग्दैन ।’

माओवादीका अर्का एक नेताले अर्थ र गृह कांग्रेस र माओवादीबीच साटफेर गर्ने सहमति नभएको दाबी गरे ।

ती नेताले भने, ‘गृहमन्त्रीले सुशासनको पक्षमा काम गरिराख्नुभएको छ । आर्थिक संकट अन्त्य गर्न प्रधानमन्त्रीले आफू मातहतकै गृह र अर्थ मन्त्रालाय भयो भने काम गर्न सहज हुन्छ भन्ने छ । साटफेरबारे कुनै सहमति भएको छैन । यो बाहिरको कुरामात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको कार्यकाल एक वर्ष पुगेकै अवसरमा मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए । तर, देउवा तयार नहुँदा रोकिएको थियो । प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन चाहेका छन् भने देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनुपर्ने पक्षमा छन् ।

ती नेता थप्छन्, ‘शीर्ष तहमा गृह र अर्थमन्त्रीको विषयमा मतभेद रहँदै आएको छ । अहिले विवादमा आएका मन्त्रीहरुलाई पनि हटाउनुपर्ने दबाब छ । त्यसैले व्यक्ति छानेर हटाउँदा विवाद हुनसक्ने भएकाले प्रधानमन्त्रीले सेट नै फेर्न चाहनुभएको देखिन्छ ।’

तर, कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले केही मन्त्रीमात्रै फेर्ने कि सेट नै परिवर्तन गर्ने भन्नेबारेमा अहिलेसम्म कुनै सहमति नभएको जिकिर गरे ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भइरहे पनि आजभोलि नै हुने सम्भावना नभएको प्रधानमन्त्री सचिवालयको एक सदस्यले बताए । ती सदस्य भन्छन्, ‘छलफल भइरहेको छ । प्रधानमन्त्री अहिले बाहिरको कार्यक्रममा व्यस्त हुनुहुन्छ । त्यसैले तत्काल हुने देखिएको छैन ।’

नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पार्टीमा अहिलेसम्म छलफल नै नभएको दाबी गरे ।

उनले भने, ‘हिजो पनि पार्टीको बैठक बसेको थियो । यो विषयमा अहिलेसम्म छलफल भएको छैन ।’

प्रचण्ड सरकारमा रहेका टेरामक्स प्रणालीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटनमन्त्री सुदन किराँती र बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई नहटाएको भन्दै चर्को आलोचना भइरहेको छ ।

प्रतिनिधिसभाको बैठकमा पनि यो विषयमा चर्को आवाज उठेपछि सभामुख देवराज घिमिरेले पटक पटक जवाफ दिन रुलिङ गर्दा पनि प्रधानमन्त्री उपस्थित भएका छैनन् । आफैं नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर