महासमिति बैठकसमक्ष १५ बुँदे प्रस्ताव–कांग्रेसको दशा बदलेर दिशा तय गरौं
अर्को साता नेपाली कांग्रेसको वहुप्रतिक्षित महासमिति बैठक शुरु हुँदैछ । यो महासमिति बैठक फगत कर्मकाण्ड र नेतृत्वको महिमा मण्डनमा सिमिति हुन हुँदैन । यसले कांग्रेसको दशा ठिक गरेर दिशा तय गर्नुपर्छ भन्ने मान्यताका साथ मैले देशब्यापी भ्रमण र छलफल गरेँ ।
विभिन्न जिल्ला र क्षेत्रका महासमिति सदस्यहरुसँग विशेष छलफल र विचार विमर्श गरेर नेपाली कांग्रेसको आगामी महासमितिको बैठकमा नेपाली कांग्रेसलाई आमूल परिवर्तन गर्न ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्दैछु । जुन बुँदाहरु यस प्रकार छन्ः
१) कामका आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी
पार्टीमा योगदान र कामका आधारमा मूल्याङ्कन हुनुपर्छ । गुटका आधारमा होइन कि उसले कति काम गरेको छ, त्यसका आधारमा मूल्याङ्कन गर्ने प्रणालीको व्यवस्था गर्न जरुरी छ । कुनै पनि पदीय जिम्मेवारी दिँदा पनि व्यक्तिको अनुहार हेरेर होइन, उसको दक्षता र क्षमताका आधारमा दिनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा नगरौं । व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज र नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिको सुरुवात गर्न नेपाली कांग्रेसले ढिलो गर्नुहुन्न । पार्टीमा विकृति, विसङ्गतिको अन्त्य गरी विधि, नियम, प्रक्रिया र सामूहिकताको आधारमा चल्नुपर्छ ।
२) सम्पत्ति छानबिन आयोग गठन
अहिले देश भ्रष्टाचारले आक्रान्त छ । जतासुकै भ्रष्टाचारका काण्डले जनतामा निकै आक्रोश बढेको छ । भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेसले नै अगुवाइ गरेर पञ्चायतकालदेखि गणतन्त्र अहिलेसम्म सार्वजनिक पदमा बसेका नेतादेखि कर्मचारीसम्मका सम्पत्ति छानबिनका लागि एक आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।
३) युवा विदेश पलायन र रोजगारी
रोजगारीको अभावमा लाखौं युवा विदेशिन बाध्य छन् । युवाको भविष्य, बेरोजगारी र देशमा युवा जनशक्तिको अभावका विषयमा पार्टीले गम्भीर रुपले छलफल गर्नुपर्छ । अहिले कांग्रेस सरकारमा छ । त्यसैले कांग्रेसको विशेष पहलमा हजारौं रोजगारी सिर्जना गरौं र युवालाई स्वदेशमै बस्ने वातावरण बनाऔं । विश्वको जुनसुकै कुनामा पुगेका नेपालीहरुको सुरक्षा, संरक्षण र उनीहरुको सफल भविष्यका लागि विशेष संयन्त्र खडा गरी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । विदेशमा गएर नेपालीले आर्जन गरेको अनुभव, पूँजी, ज्ञान र सीप नेपालमा भित्र्याएर समृद्ध राष्ट्र बनाउन कांग्रेसले विशेष पहल गर्नुपर्छ ।
उद्यमशीलताको विकास गरी युवाहरुलाई नवप्रवर्तनमा जोडिन हौसला, प्रेरणा, पूँजीमा पहुँच, कानूनी सहजीकरण र व्यवसायिक वातवरण निर्माणको लागि कांग्रेसले विशेष पहल लिनुपर्छ । कोरोना महामारी र अहिलेको आर्थिक संकटको कारण रोजगारी गुमाएका मजदुर र अप्ठेरोमा परेका तथा मिटरब्याज पीडित, साना व्यापारी, उद्योगी र व्यवसायीहरुका लागि तत्काल राहत प्याकेज घोषणाको लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ । अर्थतन्त्र मजबुत बनाउने विशेष कार्यक्रमहरू सञ्चालन गर्न सरकारलाई दबाब दिनुपर्छ । कांग्रेसले नै आर्थिक समृद्धिको नेतृत्व लिन सक्नेगरी अगाडि बढ्नुपर्छ ।
४) जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
अहिलेको मिश्रित निर्वाचन प्रणालीले अस्थिरता सृजना मात्रै गर्यो । प्रधानमन्त्रीको ध्यान देशको विकास र समृद्धिभन्दा पनि आफ्नो पद जोगाउन गठबन्धनका सर्तहरु मानेर संसदमा बहुमत जुटाउनमै सम्पूर्ण समय खेर गएको देखिन्छ । वर्ष-वर्षमा सरकार परिवर्तनको फोहोरी खेल चलिराख्दा जनपेक्षित काम सरकारले गर्न सकिरहेको छैन । एउटा प्रधानमन्त्रीले आफ्नो सोच विचार, भिजन, योजनाअनुसार काम सुरु गर्न नपाउँदै सरकार ढल्ने अवस्था आउँछ । त्यसैले स्थिर सरकार, तीव्र विकास, भ्रष्टाचार नियन्त्रण र बलियो सरकार निर्माण गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाका विषयमा पनि छलफल गरिनुपर्ने आवश्यकता एकदमै भैसकेको छ । पाँच वर्ष ढुक्कसँग आफ्नो भिजन र योजनाअनुसार काम गर्न कार्यकारी प्रधानमन्त्री व्यवस्था पो उपयुक्त हो कि ? अब छलफल गरौं । यसैगरी प्रतिनिधिसभाको निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक देखिन्छ । अब प्रतिनिधिसभाको निर्वाचनमा सबै सीट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न जरुरी छ । अनि राष्ट्रियसभामा समानुपातिक र समावेशी गरौं ।
पाँच वर्ष ढुक्कसँग आफ्नो भिजन र योजनाअनुसार काम गर्न कार्यकारी प्रधानमन्त्री व्यवस्था पो उपयुक्त हो कि ? अब छलफल गरौं । यसैगरी प्रतिनिधिसभाको निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक देखिन्छ । अब प्रतिनिधिसभाको निर्वाचनमा सबै सीट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न जरुरी छ ।
५) अवसरको समान र न्यायोचित वितरण
पार्टीभित्र कुनै पनि अवसरको समान र न्यायोचित वितरण हुनुपर्छ । सधैं एउटै व्यक्तिले मात्रै अवसर पाउने, एकै मानिस सधैं मन्त्री र सांसद हुने, सीमित मान्छेको मात्रै हालिमुहाली हुने, दुःख र संघर्ष सबैले गर्नुपर्ने तर, नेताबाट पुरस्कृत हुने चाहिँ सधैं उही एउटै अनुहार हुने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ । अब एक जना मानिस तीन पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरौं । सीमित मानिसको हालिमुहाली हुन रोकौं । प्रधानमन्त्री र मन्त्री पनि दुई पटकमात्रै हुन पाउने व्यवस्था गरौं । नेपाली कांग्रेसमा जनताको आकर्षण र युवाको सहभागिता बढाउन अब नयाँ अनुहारलाई पनि संसदमा आउने र देशको नेतृत्व गर्ने मौका दिनुपर्छ ।
६) आमचुनावको दुई वर्षअघि नै महाधिवेशन
आमचुनावको मुखैमा पार्टीको महाधिवेशन गर्दा पार्टीको आन्तरिक विवादले गर्दा आमचुनावमा असर भएको देखिन्छ । पार्टीको महाधिवेशनमा भएको खिचातानी, वादविवाद र आन्तरिक निर्वाचनको कारणले आपसी मनमुटाव भैरहेको बेला तत्काल आमचुनावमा जानुपर्दा त्यसको गम्भीर असर पर्ने देखिन्छ । त्यसैले आमनिर्वाचनलाई असर नगर्ने गरी आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनुपर्छ । आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गरेर एकताबद्ध रुपमा तत्काल राष्ट्रिय निर्वाचनको तयारीमा जुट्नुपर्छ ।
७) वडा अधिवेशन दुईदुई वर्षमा गर्नुपर्ने
पार्टी संगठनको ढाँचा पनि केही परिवर्तन गर्नुपर्ने देखिन्छ । पार्टीको वडा अधिवेशन दुई वर्षको अन्तरालमा गर्दा नेतृत्व विकास र चलायमान हुन्छ । केन्द्रीय महाधिवेशन सम्पन्न गर्न देशैभरिका प्रतिनिधिहरु भेला हुन समय लाग्ला, तयारी गर्नुपर्ला, त्यो ठीकै हो । तर, एउटा वडाको अधिवेशनको लागि पाँचपाँच वर्ष कुरेर संगठनलाई जाम गरेर राख्नुभन्दा दुई-दुई वर्षमा वडा अधिवेशन गर्दा वडाको संगठन गतिशील हुनुका साथै नयाँ र ऊर्जाशील नेत्तृत्वले समुदाय तहमा पार्टीलाई सशक्त, बलियो र प्रभावकारी बनाउन विशेष भूमिका निर्वाह गर्छन् । केन्द्रीय महाधिवेशन हुने वर्षमात्रै क्षेत्रीय प्रतिनिधि छान्ने र महाधिवेशन नहुने वर्ष वडा सभापति र वडा कार्यसमितिको मात्र चयन गर्दा पार्टी चलायमान र स्थानीय तहमा नेतृत्व विकास गर्ने अवसर प्राप्त हुन्छ । जसले गर्दा पार्टीको मेरुदण्डको रुपमा रहेको स्थानीय तहको संगठन बलियो हुने वातवरण तयार हुन्छ ।
८) जातीय धार्मिक विवादमा
जात र धर्मका नाममा राजनीति गर्ने र जातीय धार्मिक विवादमा कांग्रेस फस्ने काम गर्नुहुँदैन । कुनै पनि विवादमा पर्ने विषयमा कांग्रेस गम्भीर बन्नुपर्छ । धर्म भनेको मान्छेको आस्था र विश्वासको कुरा हो । त्यसैले धर्मको राजनीतीकरणबाट कांग्रेसलाई मुक्त राख्नुपर्छ । तर, बहुसंख्यक जनताको भावनामाथि कांग्रेसले चोट पुर्याउने काम कदापि गर्नुहुँदैन ।
९) सत्ता केन्द्रित होइन जनता केन्द्रित पार्टी
पार्टीलाई सत्ता केन्द्रित होइन, नागरिक केन्द्रित बनाउनुपर्छ । नेताको अर्जुनदृष्टि कुर्सीमा हुनुभन्दा जनताको समस्यामा अर्जुनदृष्टि हुनुपर्यो । पार्टी सत्ता, शक्ति र कुर्सी केन्द्रित हुनुभएन । नागरिकका सवालमा पार्टी खरो ढंगबाट अघि बढ्नुपर्छ । आज नागरिकले महँगी र मूल्यवृद्धिको मार खेपिरहनु परेको छ । किसानले मल नपाउने, विद्यार्थीले पुस्तक नपाउने, युवाले रोजगारी नपाउने अनि नागरिकता लिनेदेखि पासपोर्ट बनाउने ठाउँ र कर बुझाउनसम्म कष्टपूर्ण लाइन बस्नुपर्छ । नागरिकको यो अवस्थाको अन्त्य कहिले हुन्छ ? हाम्रो पार्टी अहिले सरकारमा भएर पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकेको देखिन्न । नागरिकको दैनिक जीवनयापन सरल र सहज बनाउन विशेष ध्यान दिनुपर्छ । साथै पार्टी शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला र गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा वैचारिक जागरण अभियान सुरु गर्न जरुरी छ ।
१०) भ्रातृ संस्थाको यथाशीघ्र महाधिवेशन
भ्रातृ संस्थाहरु कांग्रेसका मेरुदण्ड हुन् । कांग्रेसका नर्सरी र संगठनका मूल आधार हुन् । तर, अहिले महाधिवेशन नगरेर तदर्थवादबाट चलाउन खोज्दा संगठन कमजोर बन्न पुगेको छ । त्यसैले तत्काल भ्रातृ संस्थाहरुको महाधिवेशन गरेर पदधिकारीसहित गतिशील, ऊर्जाशील र कर्मशील नेतृत्व चयन गर्न ढिलो गर्नुहुन्न ।
जात र धर्मका नाममा राजनीति गर्ने र जातीय धार्मिक विवादमा कांग्रेस फस्ने काम गर्नुहुँदैन । कुनै पनि विवादमा पर्ने विषयमा कांग्रेस गम्भीर बन्नुपर्छ । धर्म भनेको मान्छेको आस्था र विश्वासको कुरा हो । त्यसैले धर्मको राजनीतीकरणबाट कांग्रेसलाई मुक्त राख्नुपर्छ । तर, बहुसंख्यक जनताको भावनामाथि कांग्रेसले चोट पुर्याउने काम कदापि गर्नुहुँदैन ।
११) नो गठबन्धन
सिद्धान्तहीन, विचारहीन, गठबन्धन गर्नुहुन्न भन्ने आमकार्यकर्ताको आवाज हुँदाहुँदै पनि सत्तालाई मात्रै ध्यान दिएर बनेको बृहत गठबन्धनले सोचे जस्तो परिणाम आउन सकेन । त्यसैले निर्वाचन समीक्षाका लागि टालटुले पारामा होइन, गहिराइमा पुगेर छलफल गर्नु जरुरी छ । अब आइन्दा अरुको बैसाखी नटेकी आफ्नै बलमा निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ ।
१२) शहीद परिवारलाई सम्मान
शहीद परिवार तथा द्वन्द्व पीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको सुनिश्चितता गरिनुपर्छ ।
१३) एक व्यक्ति एक जिम्मावारी
समानुपातिकबाट एक पटक सांसद बनेकालाई कुनै पनि हालतमा दोहो¥याउनु हुँदैन । पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने, तेहरिने अवस्थाको अन्त्य गर्नुपर्छ । एउटै व्यक्तिलाई भएभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँट हुनुपर्छ । अब पार्टीमा ‘एक व्यक्ति एक जिम्मावारी’ हुनुपर्छ ।
१४) निर्वाचनमा निष्पक्ष टिकट वितरण
निर्वाचनमा टिकट वितरण गर्दा अनैतिक चलखेल नगरी केन्द्रको हस्तक्षेप पूर्णतः बन्द गर्नुपर्छ । स्थानीय तहको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितिले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नुपर्छ ।
१५) युवामैत्री पार्टी
युवाहरूको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । नेपाली कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ ।