सीटीईभीटीको सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस – Nepal Press

सीटीईभीटीको सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले सोमबार महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको हो । सिफारिस समितिको सदस्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारी र पूर्व सचिव केशवप्रसाद भट्टराई सदस्य रहेका छन् ।

समितिले सिफारिस गरेको तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पठाउने र मन्त्रिपरिषद्ले तीन जनामध्ये उपयुक्त एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ ।

गत असोजमा रिक्त सदस्य सचिव पदमा नियुक्तिका लागि आयोगका सदस्य पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो । समितिले आवेदन माग गरेकोमामा ८ जनाको नाम छोटो सूची (सर्ट लिस्ट)मा पार्दै मंसिर ८ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ मा परिषद्मा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त सदस्य सचिव दिने व्यवस्था अनुसार नै भट्टराईले एक महिनादेखि निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिस्पर्धामा रहेकामध्ये बलिया दाबेदारका रूपमा रहेका निमित्त सदस्य सचिव भट्टराई विगत १२ वर्षदेखि सहसचिव सरहको जिम्मेवारीमा रहेर परिषद्मा काम गर्दै आएका छन् ।

प्राविधिकतर्फ ईन्जिनियर भट्टराई प्रतिस्पर्धामा रहेका आठ जना जनामध्ये सबैभन्दा वरिष्ठ कर्मचारी पनि हुन् । भट्टराई यस अघि नियुक्त भएका तीन जना सदस्य सचिव जीवनारायण काफ्ले, पुष्परमण वाग्ले र रामहरि लामिछानेसँग प्रतिस्पर्धामा पनि थिए ।

अर्का प्रतिस्पर्धी टेकबहादुर मल्ल निमित्त सदस्य सचिव भट्टराई भन्दा तीन वर्ष जुनियर हुन् । उनी विशेष प्रक्रियाबाट बढुवा भए पनि समायोजन नभएका कर्मचारी हुन् । मल्ल अहिले परिषद्मा सीप परीक्षक समितिको निर्देशकको जिम्मेवारीमा छन् । उनी पर्यटनको क्षेत्रको प्रशिक्षण लिएका कर्मचारी हुन् । मल्ल जीवनारायण काफ्ले सदस्य सचिव नियुक्त हुँदाका बखत प्रतिस्पर्धामा थिए ।

अर्का प्रतिस्पर्धी विनोद बडाल क्वालिटी परियोजना निर्देशकको जिम्मेवारीमा छन् । उनी शिक्षा शास्त्र अध्ययन गरेका कर्मचारी हुन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको पालामा नियुक्त भएका सदस्य–सचिव जीवनारायण काफ्लेको गत साउन चार गते ५८ वर्षे उमेर अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।

यद्यपि काफ्लेले उमेर ५८ पुरा भए पनि नियमावलीमा सदस्य सचिवको कार्यकाल चार वर्षे भएको भन्दै आफूले चार वर्षे कार्यकाल पुरा गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भदौ २१ गते सर्वोच्च अदालतले काफ्लेको विपक्षमा फैसला गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २६ गते परिषद्का सबैभन्दा वरिष्ठ कर्मचारी महेश भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको हो ।

नियमावली अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरह पाँच वर्ष परिषद्मा सेवा गरेको कर्मचारीले सदस्य सचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ ।

सीटीईभीटीको सदस्य सचिव शिक्षाको प्राविधिकतर्फको कर्मचारी नियुक्त गर्ने गरिएको छ । सीटीईभीटी प्राज्ञिक थलो भएकाले विज्ञताको आधारमा प्राज्ञिकलाई ध्यान दिएर नियुक्त गर्नेपर्ने पक्षमा परिषद्का कर्मचारी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *