देशभर मनाइयो मर्यादित महिनावारी उत्सव (तस्बिरहरु)
काठमाडौँ । पाँचौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस देशभर भव्य कार्यक्रम गरि मनाइएको छ । शुक्रबार जुम्ला, दाङ, सर्लाही, काठमाडौँ लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरि मर्यादित महिनावारी दिवस मनाइएको हो ।
काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलर्दीय महिनावारी सञ्जाल, मर्यादित महिनावारी अभियान नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा विभिन्न र्काक्रम गरि मर्यादित महिनावारी उत्सव मनाइएको हो ।
मर्यादित महिनावारी अभियानको संस्थापक तथा अभियन्ता डा. राधा पौडेलले रंगीचंगी बेलुनलाई महिनावारी स्वतन्त्रताको प्रतिक स्वरुप आकाशमा उडाएर सुरु भएको अन्तर्राष्ट्रिय उत्सवमा विभिन्न कार्यक्रम भएका थिए ।
उक्त कार्यक्रममा समीक्षा दाहालले महिनावारीको अवस्था र मर्यादित कसरी बनाउने भन्ने विषयमा कविता बाचन गरेकी थिइन् । सो अवसरमा नेपालका अभियन्ता मात्रै नभएर विश्वका विभिन्न देशका मर्यादित महिनावारी अभियन्ताले भर्चुअल छलफलमा समेत भाग लिएका थिए ।
किशोरावस्थाका बालिका, अपाङ्गता भएका महिला, लैँगिक अल्पसंख्यक समुहका युवा तथा सञ्चार क्षेत्रका युवाका बीचमा मर्यादित महिनावारीको वर्तमान अभ्यास र नीतिगत सुधारका विषयमा पनि छलफल भएको आयोजक तथा मर्यादित महिनावारी अभियन्ता समीर परियारले जानकारी दिए ।
त्यसैगरी सो अवसरमा बेलायत, घाना, श्रीलंका, फिलिपिन्स लगायतका देशबाट भर्चुअल माध्यमबाट मर्यादित महिनावारीको अन्र्तराष्ट्रिय अभ्यास र सुधार गर्नुपर्ने पक्षहरुको विषयमा समेत छलफल भएका थियो ।
कार्यक्रममा मानव अधिकार आयोगका सदस्य लिली थापाले मर्यादित महिनावारी मानव अधिकारको समेत विषय भएकोले सबैले यो विषयमा आवाज उठाउनुपर्ने बताइन् । उनले राज्यले समेत नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन् ।
त्यसैगरि सो अवसरमा मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले मूल वक्ताको रुपमा सर्वपक्षीय चासो हुनुपर्ने मर्यादित महिनावारीका विषयमा राज्यका कुनै पनि तहबाट नीतिगत रुपमा बोल्न नसकेको बताएकी थिइन् । यसविषयमा सबै पक्ष मौन भएको व्यक्तिको सृष्टिकर्ता महिनावारी रगतको शुद्धताको विषयमा चर्चा हुनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हा, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, प्लान इन्टरनेशनलका कन्ट्री डाइरेक्टर राम किसन लगायतले बोलेका थिए ।
सोही समारोहमा मर्यादित महिनावारीका विभिन्न फरक फरक विषयमा देशभरका पत्रकारहरुले लेखेका समाचारको संकलन पुस्तक सृष्टिको रगतको गाथा र मर्यादित महिनावारी तालिम हाते पुस्तिकाको समेत विमोचन गरिएको थियो ।
त्यसैगरि जुम्ला, दाङ, सर्लाही लगायतका स्थानमा स्थानीय अधिकारर्मी तथा सरोकारवालाहरुले पनि त्यहाँका महिलाहरुले र्याली सहित अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।
हरेक वर्ष डिसेम्बर ८ तारिकमा मर्यादित महिनावारी दिवस मनाइन्छ । यसवर्ष यौन हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी नारा दिएर विश्वभर मर्यादित महिनावारी दिवस मनाइएको हो ।