झुलाघाट–चिवाभन्ज्याङ यात्रा, एमाले डोटीले २५ जनालाई गर्याे सम्मान
डोटी । “समृद्धिका लागि संकल्प यात्रा, २०८०” नाम दिइ नेकपा एमालले मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राका क्रममा डोटीमा २५ जनालाई सम्मान गरेको छ ।
अभियानको क्रममा एमाले डोटीद्वारा सिलगढीको टुँडीखेलमा आयोजित आमसभामा विभिन्न क्षेत्रबाट जिल्लाको विकास र समृद्धिमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो । सम्मान गर्ने क्रममा लामो समयदेखि साहित्य, कला र शिक्षण क्षेत्रमा बिताएका समाजसेवी दिपायल सिलगढी नगरपालिका–६ का धनबहादुर मल्ललाई एमालेले सम्झिएको छ ।
यस्तै, गुणस्तरीय शिक्षाका लागि सक्रिय रहेका शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर मावि कपल्लेकीका प्रधानाध्यापक गगनवहादुर कार्की, बिद्यालय व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएका आदशै गाउँपालिका–५ मा रहेको भगवती मावि तलाराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मरवहादुर सिंह र प्राविधिक क्षेत्रमा उत्कृष्ठ नतिजा ल्याउन सफल सेती प्राविधिक शिक्षालयलाई सम्मान गरेको छ ।
स्वास्थ्य सेवामा राम्रो सेवा प्रवाह गरिरहेका जिल्ला अस्पताल डोटीका डा. राजेन्द्र फुलारा, पर्यटन प्रवद्र्धनमा सक्रिय रहेका खप्तड होमस्टेका सञ्चालक दिपकवहादुर खड्का, भलिवल क्षेत्रका खेलाडी आदर्श गाउँपालिका–५ का डम्मर भट्टराई, फुटबलका खेलाडी दिपायल सिलगढी–६ का आयुष घले र खेल क्षेत्रमा योगदन गरेका जोरायल गाउँपालिका–३ का प्रसान्त साहुँलाई पनि एमालेले सम्मान गरेको छ ।
यस्तै, पत्रकारिता क्षेत्रबाट समाजलाई योगदान गरेको भन्दै बिम्ब साप्ताहिकका सम्पादक रामहरि ओझा र गायन क्षेत्रमा पूर्वीचौकी गाउँपालिका–७ का ध्वजवहादुर महरालाई पनि एमालेले सम्झेको छ ।
डोटीमा कम्युनिष्ट पार्टी स्थापनाकालदेखिनै महत्वपूर्ण भूमिका खेलेको भन्दै एमाले डोटीका पूर्व सचिव डिल्लीराज भट्ट, जेष्ठ कम्युनिष्ट मञ्च डोटीका अध्यक्ष सहदेव खाती र पुराना कम्युनिष्ट कार्यकर्ता सायल गाउँपालका–६ का ताराप्रसाद रोकायाले सम्मान पाएका छन् ।
एमाले डोटीले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने १२ जनालाई पनि सम्मान गरेको छ । पार्टी जिल्ला अध्यक्ष चक्रवहादुर मल्लका अनुसार सुन्तला खेतीमा उत्कृष्ठता प्रदर्शन गर्ने बडीकेदार गाउँपालिका–४ का धनवहादुर जेठारा, बेमौसमी तरकारी खेतीतर्फ जोरायल गाउँपालिका–१ का खडकवहादुर मल्ल, पुष्प खेतीतर्फ शिखर नगरपालिका–४ का नवराज जोशी, तरकारी खेतीतर्फ दिपायल सिलगढी नगरपालिका–५ का सविता भण्डारीलाई सम्मान गरिएको छ ।
यस्तै, बाख्रा पालनतर्फ बोगटान फुड्सिल गाउँपालिका–१ का मोहनवहादुर बम र पूर्वीचौकी गाउँपालिका–७ का देवहादुर बोगटी, आलु र फलफुल खेतीतर्फ सायल गाउँपालिका–३ का ननी थापा, तरकारी खेतीतर्फ आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी, तरकारी तथा पशुपालन तर्फ दिपायल सिलगढी–५ का जय वहादुर शाही र गाईपालनतर्फ दिपायल सिलगढी–५ कै रवी श्रेष्ठ सम्मानित भएका छन् ।
यस्तै, जोरायल गाउँपालिका–१ मा रहेको जैविक बिविधता सहकारी संस्था लिमिटेडका सञ्चालक गणेश वहादुर बिष्टलाई पनि एमालेले सम्मान गरेको छ । सम्मानित हुने सवैलाई एमाले अध्यक्ष ओलीले प्रमाण पत्र दिएका थिए ।
‘सम्वन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा बिभिन्न क्षेत्रमा राम्रो प्रयास गरिरहेका व्यक्तिहरुलाई हौसला दिनका लागि सम्मानको कार्यक्रम गरिएको एमाले जिल्ला अध्यक्ष मल्लले वताए । उनले भने ‘सम्मान गर्ने क्रममा हामीले राजनीतिक बिचार हेरेका छैनौं, जसले राम्रो गरेको छ, उसैलाई सम्मान गरेका छौं ।’
सो अवसरमा एमाले डोटीले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सम्मान गरेको थियो ।