१० महिनादेखि दुर्गा प्रसाईंसँग टचमै छैनन् पूर्वराजा, फागुन १ मा दियो बाल्न जालान् ? – Nepal Press

१० महिनादेखि दुर्गा प्रसाईंसँग टचमै छैनन् पूर्वराजा, फागुन १ मा दियो बाल्न जालान् ?

काठमाडौं । नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन १ गते पूर्वराजाको हातबाट दियो बालेर ‘धर्मसापेक्ष राष्ट्र घोषणा गर्ने’ भन्दै दुई दिनअघि भाषण गरे । तर, यो विषयमा पूर्वराजासँग उनको कुनै पनि समझदारी नभएको खुलेको छ ।

हिजो आफ्नै निवासमा युट्युबरहरु भेला गरेर प्रसाईंले दुई वटा घोषणा गरेका थिए । पहिलो- मंसिर ३० गतेभित्र गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार गठन गर्ने । दोस्रो- फागुन १ गते काठमाडौंको बसन्तपुरमा पूर्वराजाको हातबाट दियो बालेर ‘वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र’ सहितको व्यवस्था परिवर्तन घोषणा गर्ने । उनका यी दुई योजना सुन्दा आक्रामक छन् । तर, सफल हुने सम्भावना झिनो छ ।

जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले ‘समानान्तर सत्ता’ को अभ्यास गरेको थियो । गाउँदेखि केन्द्रसम्म विभिन्न तहका ‘जनसरकार’ माओवादीले चलाएको पनि हो । तर, त्यो स्तरको संगठनात्मक संरचना र सैन्य शक्ति दुर्गा प्रसाईंसँग छैन । उनको नागरिक सरकारको घोषणा प्रचारात्मक मात्रै रहेको संगठनभित्रैका एक सक्रिय अभियन्ता बताउँछन् ।

उनले भने, ‘अहिलेसम्म यो विषयमा उहाँले कुनै पनि गम्भीर छलफल गर्नुभएको छैन । आन्दोलन सिथिल हुँदै गएपछि कार्यकर्तामा ऊर्जा थप्न आफ्नै तजबिजमा यस्तो कुरा ल्याउनुभएको हुनसक्छ ।’

फागुन १ गते पूर्वराजालाई नै उतारेर व्यवस्था उल्टाउने प्रसाईंको घोषणा झनै हावादारी देखिएको छ । प्रसाईंको आन्दोलनलाई पूर्वराजाको कुनै साथ र समर्थन नरहेको स्रोत बताउँछ ।

पूर्वराजा निकट स्रोतले भन्यो, ‘सरकारलाई भुलभुलैयामा पारेर गत वर्ष फागुन १ गते मेची पुलमा उपस्थित गराउन सफल भए । तर, त्यहाँदेखि सरकारले एक पटक पनि उनलाई दर्शनभेट दिइबक्सेको छैन । दुर्गा प्रसाईंको आन्दोलनसँग राजसंस्था कतै पनि जोडिएको छैन ।’

प्रसाईंले काठमाडौंमा मंसिर ७ गते गरेको ठूलो कार्यक्रमलाई नजरअन्दाज गरेर मंसिर ९ गते पूर्वराजा झापा जानुले नै धेरै कुरा प्रस्ट हुने स्रोतको भनाइ छ ।

‘राजसंस्थाको माग गरेर सडकमा आउनेहरुप्रति सदासयता त रहन्छ नै । तर, आफ्ना निजी स्वार्थ पूरा गर्न राजसंस्थाको नाम भजाउन खोज्नेहरुप्रति सरकार सचेत होइबक्सेको छ’, स्रोतले थप्यो ।

स्रोतका अनुसार पूर्वराजाले राजसंस्था समर्थक सबै व्यक्ति तथा राजनीतिक शक्तिहरु एक ठाउँमा आएर आन्दोलनको ज्वारभाटा उत्पन्न गरे हुन्थ्यो भन्ने चाहेका छन् । त्यसको नेतृत्व राप्रपाले लिनुपर्ने उनको मनसाय छ । तर, सबै आआफ्नै दुनो सोझ्याउन तल्लीन हुँदै गएपछि पूर्वराजामा निराशा छाइरहेको स्रोतले बतायो । अझ, दुर्गा प्रसाईंका कतिपय बोली र क्रियाकलापले राजसंस्थाकै छवि धुमिल बनाउन सक्ने भनेर पूर्वराजा चिन्तामा परेको पनि स्रोतको भनाइ छ ।

यता, प्रसाईंको महाअभियानका सहप्रवक्ता राजानन्द मान्डव्य भने पूर्वराजासँग आफूहरु निरन्तर सम्पर्कमा रहेको र आपसी समझदारी भएर नै फागुन १ को कार्यक्रम तय भएको दाबी गर्छन् ।

उनले भने, ‘हामीले आफूखुशी घोषणा गरेको होइन । दुर्गा प्रसाईंज्यू पूर्वराजा र राजपरिवारसँग नियमित संवादमा हुनुहुन्छ । उहाँहरुबीच अनौपचारिक सहमति भइसकेको हुनुपर्छ । यद्यपि, हामीले लिखित निमन्त्रणापत्र पठाउन भने बाँकी छ ।’

समानान्तर सरकार गठनको विषयमा भने अभियानभित्र ठोस छलफल भइनसकेको उनले बताए ।

‘समानान्तर सरकार भनेर हामीले प्रधानमन्त्री/मन्त्रीहरु घोषणा गर्न लागेको होइन । गाउँदेखि माथिल्लो तहसम्म जिम्मेवारी बाँडफाँट गरेर जनताका समस्या सम्वोधन गर्ने हाम्रो उद्देश्य हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर