एमसीसी परियोजनामा नेकपा एसको चासो- व्याख्यात्मक घोषणाअनुसार काम गर्न पाण्डेले गराए ध्यानाकर्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीको एमसीसी अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह गरेको छ ।
एमसीएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफलमा नेकपा एसका उपाध्यक्ष तथा पार्टीको एमसीसी अनुगमन समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेले एमसीसी लागू गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेको स्मरण गराए ।
‘परियोजना लागू भएको एक वर्ष कटिसक्यो, के के काम भयो ? हामीले यो परियोजना पास गर्दा जनताको हितमा काम अघि बढोस् भनी १२ बुँदे व्याख्यात्मक घोषणा पनि गरेका छौं, त्यसअनुरूप काम भएको छ कि छैन, जग्गा अधिग्रहण र मुआव्जा वितरण कसरी भइरहेको छ ?’ पाण्डेले चासो व्यक्त गर्दै भने ।
एमसीए नेपालका कार्यकारी निर्देशक खडगबहादुर विष्टले १२ बुँदे व्याख्यात्मक घोषणालाई आत्मसाथ गरी परियोजनाको काम अघि बढाएको बताएका छन् ।
‘कतै समस्या आउँदा पनि तपाईहरूसँग समन्वय गरेरै समाधान गर्न अघि बढेका छौं, हामी तपाँईहरूको सुझावअनुसारै बढ्छौं’, निर्देशक विष्टले भने ।
विष्टले अहिलेसम्म परियोजनाको जग्गा अधिग्रहणको काम भैरहेको र प्रसारण लाइन परियोजनामा लागत घटाउने प्रयास असफल भएपछि सम्पूर्ण ठेक्का रद्द गरेको जानकारी गराएका छन् ।
छलफलमा अनुगमन समितिका सदस्य जगन्नाथ खतिवडा पनि उपस्थित थिए ।