युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन माइतीघर-नयाँ बानेश्वरमा गर्न निषेध


काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गर्नका लागि निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय भएको हो ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारी तथा संवेदनशील निकाय भएकाले पनि त्यहाँ प्रदर्शन गर्न नदिइने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘माइतिघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्र सम्वेदशिल क्षेत्र हो । सर्वोच्च अदालत, सिंहदरबार, विशेष अदालत, जिल्ला अदालत तथा अन्य सरकारी सम्वेदनशिल कार्यालय पनि त्यसै क्षेत्रमा पर्छन् । त्यहाँ प्रदर्शन गर्दा नागरिकलाई पनि सास्ती हुनेभयो । सडक पनि अवरुद्ध हुनेभयो । त्यसैले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न नदिने निर्णय भएको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्नेछन् ।
दुवै पक्षले मंसिर सात गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको र दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुदाँ शान्ति सुरक्षामा खतरा हुने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । प्रशासनले दुबै पक्षको प्रदर्शन गर्ने ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्य र फरक-फरक ठाउँमा प्रदर्शन गर्न सुझाव दिइएको छ ।
तर, कुन-कुन ठाउँमा प्रदर्शन गर्ने भन्नेबारे भने निर्णय भइनसकेको जनाइएको छ । व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् भने उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुदैँ आएको छ ।